दार्जीलिङ, 22 सेप्टेम्बर : दार्जीलिङ पहाड़का चियाश्रमिकहरूका लागि दिइने बोनसलाई लिएर चौथो चरणको बैठक आज आइतवार दार्जीलिङ टी एसोसिएशन (डीटीए)-मा बसिनेछ।
जानकारीका अनुसार अपराह्न २ बजेदेखि बैठक शुरु हुनेछ। यसभन्दा अघि बसिएका तीनवटा बैठक विफल बनेपछि आजको बैठकमा बोनस दर छिनोफानो हुने आशा गरिएको छ। यद्यपि मालिकपक्ष र श्रमिक सङ्गठनहरू आ-आफ्नै अड़ानमा अडिग रहेको खण्डमा बैठक विफल हुने आशङ्का अधिक रहनेछ। किनभने अघिल्ला बैठकहरूमा दुवै पक्ष आ-आफ्नो अड़ानमा अडिग रहेकोले नै बैठक विफल बनेको थियो। तीनैवटा बैठकमा बोनस दरको घटबढ़बारे कुनै कुराकानी भएको छैन।
अर्कोतिर, जोइण्ट फोरमका प्रवक्ता सुनिल राईले आजको बैठकमा बोनस दर छिनोफानो हुने कुरामा विश्वास व्यक्त गरेका छन्। जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै राईले भने, “हामीलाई आशा छ, आजको बैठकमा बोनस दरको छिनोफानो हुनेछ। यद्यपि हाम्रो अड़ान 20 प्रतिशत दरको बोनस हो। श्रमिकहरूको माग पनि 20 प्रतिशत बोनस नै हो।”
उनले पछिल्ला बैठकहरूमा मालिकपक्ष 8.33 प्रतिशतको बोनस दरबाट माथि नचढ़ेपछि तीनैवटा बोनस बैठक विफल बनेको पनि बताए।
“बोनस एक्टको कुरा निकालेर 8.33 दरको बोनस दिने कुरामा मालिकपक्ष अडिग छ, जसलाई हामी स्वीकार्ने पक्षमा छैनौं। पछिल्लो बैठकमा मालिकपक्षले गुणात्मक चिया उत्पादनको कुरा झिकेर चियाकमानहरूलाई ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ वर्गमा वर्गीकृत गर्ने बताएको थियो, त्यसलाई पनि हामीले अस्वीकार गरेका छौं। किनभने पहाड़का सबै चियाकमानका चियाश्रमिकहरूले समान 20 प्रतिशतको बोनसप्राप्त गरुन् भन्ने हाम्रो माग र अड़ान हो”, फोरम प्रवक्ता राईले भने।
एक प्रश्नको उत्तरमा उनले 8.33 प्रतिशतभन्दा माथिको बोनस दिन मालिकपक्ष तयार नभए बोनस नै नथाप्ने अड़ानलाई दोहोर्याए।
“मालिकपक्षले यस्तो गरेको खण्डमा हामीसमक्ष आन्दोलन गर्नबाहेक अर्को विकल्प हुनेछैन। यसपटक मालिकपक्षले बहाना बनाउने कुनै कारण छैन”, उनले थपे, “मालिकपक्षले जहिल्यै बोनसलाई टारेर दशैंको मुखमा पुर्याउने गर्छ। दशैंको मुखमा पुर्याएर श्रमिकहरूलाई कम्ती दरको बोनस थमाउने कोशिश मालिकपक्षको हुन्छ। यसपालि पनि यस्तै गरिरहेको छ। यसैले आजको बैठकमा नै बोनस दर छिनोफानो हुनुपर्ने हाम्रो माग हो।”
अर्कोतिर, जनआन्दोलन पार्टीका ब्युरो सदस्य एवं जोइण्ट फोरमका सदस्य अमर लामाले पनि आजको बैठकमा बोनस दर छिनोफानो हुनुपर्ने माग गरे। “बैठक दुईसम्म चले पनि चलोस्, तर छिनोफानो होस्”, उनले भने।