दार्जीलिङ, 22 सेप्टेम्बर : पछिल्लो तीनपटक 6-6 महिना गरी म्याद बढ़ाइएको गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको म्याद फेरि बढ़ाइएमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले सड़कमा ओर्लिने चेताउनी दिएको छ। आइतवार टिस्टाभेल्लीस्थित सजनी डाँड़ामा पालन गरिएको गोर्खाल्याण्ड जनजागरण दिवसलाई सम्बोधन गर्दै गोरामुमो अध्यक्ष मन घिसिङले यस्तो चेताउनी दिएका हुन्।
“जीटीएको म्याद सकिएको कुरा आउँदैछ। अब पनि म्याद बढ़ाइएको खण्डमा हामी सड़कमा ओर्लिएका हुनेछौं। सबैभन्दा अघि म उभिएको हुनेछु”, उनले भने। घिसिङले अहिले जीटीएमा बसेकाहरूले पहाड़का विकासका लागि आएको पैसाको बर्मा लुटाइ गरिरहेको आरोप पनि लगाए। उनले जनतालाई ‘अण्डरस्टेमिट’ नगर्ने राज्य सरकारलाई पनि चेताउनी दिए।
“केही राम्रो गर्छ कि भनेर 6-6 महिना हेर्यौं। तर, दिनहुँ खबर आउँछ बर्मा लुटाइ छ। व्यक्तिहरूलाई लाखौं लाखौं पैसामा किन्न खोज्दैछ भने जीटीएमा भ्रष्टाचार कतिसम्म होला?”, मन घिसिङले थपे, “त्यसैले अब तपाईं र हामी चुप लागेर बस्न सक्दैनौं। लोकसभा र विधानसभा चुनाउमा हाम्रो चाहना के भन्ने देखाइसकेका छौं। त्यसैले राज्य सरकार र केन्द्रले जनताको भावनाको कदर गरेको हुनुपर्छ। अब पनि जनताको भावनालाई अण्डरस्टेमिट गर्यो गोरामुमो पार्टी मात्र होइन। तर, सम्पूर्ण जनता सड़कमा ओर्लिएका हुनेछन्। त्यसको जिम्मेवारी हामी हुँदैनौं। सरकार हुन्छ। यसैले यसलाई धम्की र सुक्खा धमास नसोच्नू।”
उनको दाबीका अनुसार पहाड़लाई शान्ति राख्ने गोरामुमोले आफ्नो कर्तव्य पूरा गर्यो। “तर, अब साह्रो छ। मैले पनि रोक्न सक्छुजस्तो लागेको छैन। धेरै कोशिश गर्दैछु। तर अब मेरो हातबाहिरको कुराजस्तो लाग्दैछ”, मन घिसिङले भने।
उनले आगामी दिनमा गोरामुमो पार्टीले रणनीति बनाउने बताए।
“फेरि यिनै व्यक्तिहरूले जीटीएको एक्सटेन्शन पाएर पहाड़ अशान्ति भयो भने त्यसको जिम्मेवारी हामी लिनेछैनौं”, उनले दोहोर्याए। घिसिङले यसपालि दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधान भएकै हुनुपर्ने माग गरे।
गोरामुमो अध्यक्षले भने, “यसपालि पाँच वर्ष खेरो जानु हुँदैन। मूल विषयदेखि भङ्गालिनु हुँदैन।” उनका अनुसार दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समस्या समाधानका लागि एक-दुईपटक बैठक भइसकेको हुनुपर्ने तर, नभएको पनि बताए।
“स्थायी राजनीतिक समाधानका लागि बैठक हुन ढिलो हुँदैन। एकवर्षमा एउटा बैठक, दुई वर्षमा दुईवटा र तेस्रो वर्षमा तीनवटा बैठक हुनुहुँदैन”, उनले थपे, “पहिलो बैठकमा मुद्दामाथि कुराकानी हुनुपर्छ।”
मन घिसिङ आफ्नो सम्बोधनअवधि विनय तामाङपन्थी गोजमुमोप्रति आक्रामक देखिए। साथै गोरामुमोका नेतृत्वहरूलाई लाखौं रुपियाँ खर्चेर किन्ने कोशिश गरिरहेको आरोप लगाए। “एकजना व्यक्तिलाई किन्ने यति धेरै पैसा तिमीहरूले चियाश्रमिकहरूलाई बाँड़ेका भए भोट त पाउँदैनौं पाउँदैनौं तर आशीर्वाद पाउनेथियौं”, उनले कटाक्ष गरे।
सभालाई दार्जीलिङका भाजपा विधायक नीरज जिम्बा र गोरामुमो केन्द्रिय प्रवक्ता महेन्द्र छेत्रीलगायत अन्यले पनि सम्बोधन गरेका थिए। यसअवसरमा गोरामुमो नेतृत्व र कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो।