जिल्ला प्रशासनद्वारा भानु भवन जीटीएलाई हस्तान्तरण

0
1164
भानु भवन।

दार्जीलिङ, 23 सेप्टेम्बर : जिल्ला प्रशासनले गोर्खा रङ्गमञ्च (भानु भवनलाई) -लाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनलाई हस्तान्तरण गरिएको एक प्रेस विज्ञप्तिमार्फत्  जीटीएका अध्यक्ष अनित थापाले जानकारी गराएका छन्। यसका साथै उनले भानु भवनमा कुनै राजनीतिक कार्यक्रम गर्न नदिने निर्णय लिएको पनि बताएका छन्।

थापाले विज्ञप्तिमा भनेका छन्, “यो भवन पहाड़मा मात्र नभएर सम्पूर्ण उत्तर बङ्गालकै उत्कृष्ट भवनमध्ये एक हो। यो भवन बन्द भएपछि दुई वर्षको अवधिमा हाम्रा स्थानीय गायक/कलाकार साथै हामी मर्कामा परेका थियौं। किनभने यो भवनले कलाकारहरूलाई मात्रा बढ़ावा नदिएर त्यहाँ विभिन्न कार्यालय पनि थिए।”

जीटीए अध्यक्षका अनुसार भानु भवनसँग एक हिसाबले सम्पूर्ण पहाड़को आत्मीय सम्बन्ध जोड़िएको थियो। साथै सधैँ जोड़िरहनेछ। यसैले गर्दा भवन बन्द भएपछि यो भवनको गरिमालाई पुनः फर्काउने प्रयासमा उनीहरू  निरन्तर लागिपरेका थिए।

उल्लेखनीय छ, 8 जून 2017 को दिन भानु भवनअघि  नेपाली भाषामाथि गरिएको अतिक्रमणविरुद्ध राज्यको शासक दल तृणमूल कङ्ग्रेसको विरोधमा गरिएको प्रदर्शन हिंसक झड़पमा परिणत भएपछि जिल्ला प्रशासनले भानु भवनलाई आफ्नो कब्जामा लिएको थियो। त्यसै बेलादेखि यो भवन बन्द थियो।

विज्ञप्तिमा थापाले बताएअनुसार भानु भवन विषयमा नै पछिल्ला साता दार्जीलिङकी जिल्लापालसँग उनको एक बैठक भएको थियो। जुन बैठकमा उनले  भानु भवन एउटा भवन मात्र नभएर यो भवन पहाड़का विभिन्न विधाका कलाकारहरूका लागि एक मञ्च पनि रहेको तथा यसको माध्यमबाट कलाकारहरूले पहाड़का कला, संस्कृति र कौशललाई दर्शकहरूमाझ पस्किने जानकारी गराएका थिए। यसैको प्रतिफलस्वरूप जिल्ला प्रशासनले  भानु भवन जीटीएलाई हस्तान्तरण गरेको उनको भनाइ छ।

थापाले यसका लागि जिल्लापाल र यसका लागि कानुनी रूपमा लड़ने  कानुनी टोलीलाई पनि धन्यवाद दिएका छन्। “पृष्ठभूमिमा फर्केर हेर्दा जुन प्रकारले यो भवनमा राजनीतिक कार्यक्रम चलिरहेको बेला दुर्भाग्यपूर्ण घटना घटेको थियो। त्यस्तो घटना भविष्यमा नदोहोर्‍याउन हामीले भवनमा कुनै राजनीतिक कार्यक्रम गर्न नदिने निर्णय लिएका छौं, उनले  थप भनेका छन्, ‘आगामी दिनहरूमा यो भवन पहाड़का स्थानीय गायक, कलाकार, नाटककारहरूको कार्यक्रम अनि आधिकारिक कार्यक्रमहरूको निम्ति मात्र प्रयोग गरिनेछ। साथै अब जीटीएले यो भवनलाई नयाँ अनि उत्कृष्ट ढङ्गले चलाउनेछ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here