बोनस दर नमिलेपछि आन्दोलित श्रमिक सङ्गठनहरू, भोलि जनसभा

0
1320
गेट सभामा उपस्थित श्रमिकहरू।

दार्जीलिङ, २३ सेप्टेम्बर :  चियाश्रमिकहरूको बोनसबारे कुनै छलफल नभएपछि भोलि अर्थात्  बुधवार जोइण्ट फोरमले दार्जीलिङको मोटर स्ट्याण्डमा एक जनसभा गर्ने निर्णय लिएको छ, जसमा चियाश्रमिकहरू पनि भेला हुने भएका छन्।

सोमवार भएको पाँचौं चरणको बोनस बैठक पनि विफल भएपछि जोइण्ट फोरमले मङ्गलवार एक बैठक गरी भोलि यहाँको मोटर स्ट्याण्डमा  जनसभा गर्ने निर्णय लिएको हो। बैठकमा दार्जीलिङ पहाडका सम्पूर्ण चियाश्रमिकहरूलाई एक दिन कामको माया मारेर भेला भइदिने फोरमको आह्वान छ।

यसै जनसभाबाट भोलि जोइण्ट फोरमले भावी रणनीतिको पनि घोषणा गर्ने तय गरेको छ। जोइण्ट फोरमकै एक नेतृत्व तथा विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-को श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-का महासचिव भरत ठकुरीले यसबारे जानकारी गराएका छन्।

आज जोइण्ट फोरमले स्थानीय गोर्खा दुःख निवारक सम्मेलन भवनमा एक सभाको आयोजन गरेको थियो, जसमा विनय तामाङपन्थी गोजमुमो, गोरामुमो, जाप, क्रामाकपा, कङ्ग्रेस, माकपा र गोर्खा लीगका श्रमिक सङ्गठनका नेताहरू भेला भएका थिए।

बैठकमा चियाश्रमिकहरूको बोनस विषय लिएर व्यापक चर्चा भएको र भोलि एक जनसभा गर्ने निर्णय लिइएको ठकुरीले बताए।

उनले भने, “अब फेरि चियाबगान मालिकपक्षले बोनसका लागि बैठक बोलाएको खण्डमा हामी २० प्रतिशतकै दरले बोनस दिइनुपर्ने माग गर्नेछौं। किनभने, चियाबगान मालिकपक्षले चियाश्रमिकहरूसित धेरै खेलाइँची गरिरहेको छ। हिजो भएको बोनस बैठकमा श्रमिक सङ्गठनहरू एक कदम पछि सरेर १९.५० प्रतिशतको बोनस दरमा राजी बनेका थिए, तर यसलाई चियाबगान मालिकपक्षले स्वीकार गर्नै मानेन। यसैले हिजोको  बैठकलाई श्रमिक सङ्गठनहरूले बहिष्कार गरेका हुन्। यसैले भोलि स्थानीय मोटर स्ट्याण्डमा एक जनसभा गरेर भावी रणनीति पनि तय गर्ने निर्णय लिइएको छ।”

डीटीडीपीएलयू महासचिव ठकुरीले यद्यपि भावी रणनीतिबारे भने खुलाएनन्। बैठकपछि चियाश्रमिकहरूको बोनसबारे जिल्ला प्रशासनले पनि उचित हस्तक्षेप गर्नुपर्छ भन्ने माग गर्दै आज जोइण्ट फोरमले जिल्लापाल, पुलिस अधीक्षक साथै सह-श्रमायुक्तलाई पत्र दिएको छ।

ठकुरीले भने, “चियाबगान मालिकपक्षले पहिलो बैठकमा बोनस ऐन १९६५-को आधारमा सबैभन्दा कम्ती दर अर्थात् ८.३३ प्रतिशतको दरले बोनस दिने बताएको थियो। श्रमिक सङ्गठनहरूले यसको ठीक विपरीत श्रमिक सङ्गठनहरूले यसै ऐनको सबैभन्दा बेसी २० प्रतिशतको दरले बोनस दिनुपर्ने माग गरेका थिए। तर, चियाबगान मालिकहरूको जबर्जस्तीपनको कारण नै ५ पल्ट भएका सम्पूर्ण बैठकहरू विफल भएका हुन्।”

उल्लेखनीय छ, पछिल्लो ३०  अगस्तको दिन बोनस विषय पहिलो चरणको बैठक भएको थियो, जसमा चियाबगान मालिक सङ्गठन डीटीए (दार्जीलिङ टी एसोसिएशन)-ले ८.३३ प्रतिशत बोनस दिने अड़ान राखेको थियो। त्यसपछि ६ सेप्टेम्बरको दिन दोस्रो चरणको बैठक भयो, जसमा पनि मालिकपक्ष ८.३३-बाट माथि बढ्न मानेन। १४ सेप्टेम्बरमा भएको तेस्रो चरणको बैठकमा पनि स्थिति अघिल्लो दुई चरणमा भएका बैठकजस्तै थियो।

२२ सेप्टेम्बरको दिन चौथो चरणको बैठक भयो, जसमा  ८.३३ प्रतिशतको बोनस अनि त्यसमा २०० रुपियाँ थपिदिने मालिकपक्षको अड़ान थियो। जसलाई श्रमिक सङ्गठनहरूले सोझै खारेज गरी २० प्रतिशतकै दरले बोनस दिनुपर्ने मागमा अडिग रहे। तर, २३ सेप्टेम्बरको दिन भएको बैठकमा दुवैपक्ष केही लचिलो बने अनि चियाकमान मालिकवर्ग १०.५० प्रतिशत दिन तयार भए भने श्रमिक सङ्गठनहरू पनि २० देखि तल झरेर १९.५० प्रतिशतको बोनस थाप्न तयार भए।

यद्यपि, चियाबगान मालिकपक्ष १०.५०-देखि अलिकति पनि माथि बढ्न नमानेपछि पाँचौ चरणको बैठक पनि विफल बन्यो। फलस्वरूप भोलिदेखि श्रमिक सङ्गठनहरूले आन्दोलन शुरु गर्ने घोषणा गरेका छन्, जसको प्राथमिक चरणमा जनसभाको कार्यक्रम छ।

अर्कोतिर आज बिहान जोइण्ट फोरमको तत्वावधानमा रङबुक चियाकमानमा गेटसभा सम्पन्न भयो। गेट सभालाई माकपा नेता समन पाठक र गोरामुमोको श्रमिक सङ्गठन हिमालयन प्लाण्टेशन लेबर युनियन (एचपीडब्ल्यूयू)-का कार्यकारी अध्यक्ष डीके गुरुङलगायत अन्यले सम्बोधन गरेका थिए। गेट सभामा उनीहरूले बोनस बैठकमा मालिकपक्ष र श्रमिक सङ्गठनको बेग्ला बेग्लै अड़ानबारे जानकारी गराएका थिए।

स्मरणरहोस्, यसवर्ष तराई-डुवर्सका चियाकमानहरूमा १८.५० प्रतिशतको दरमा बोनस दिने कुरामा सहमति बनेको छ। हिजो कोलकातामा भएको बैठकमा १८.५० प्रतिशतको बोनस दरमा सहमति बनेको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here