राज्यपाल जगदीप धनखड़सँग हात मिलाउँदै सांसद राजु विष्ट।

दार्जीलिङ, २४ सेप्टेम्बर : दार्जीलिङका सांसद राजु विष्टले मङ्गलवार पश्चिम बङ्गालका राज्यपाल जगदीप धनखड़लाई दार्जीलिङ संसदीय क्षेत्रमा द्रुत गतिमा बिग्रिँदै गएको कानून व्यवस्थाबारे जानकारी गराए।

आज एक प्रेस विज्ञप्ति जारी गरी विष्टले बताएअनुसार भेटवार्ताअवधि उनले दार्जीलिङ संसदीय क्षेत्रमा बङ्गाल पुलिसले गरिरहेको अन्याय-अत्याचार र जीटीएमा भइरहेको व्यापक भ्रष्टाचारको केन्द्रिय एजेन्सीद्वारा जाँच गराउनुपर्ने तथा दार्जीलिङको स्थायी राजनीतिक समाधानका लागि त्रिपक्षीय वार्ताका लागि पहल गरिनुपर्ने माग राखेका थिए।

यसअवधि उनले दार्जीलिङका विभिन्न मागहरू पनि राखेका थिए भने जीटीएलाई भङ्ग गर्नुपर्ने माग राखेको पनि विज्ञप्तिमा बताइएको छ। विज्ञप्तिका अनुसार जीटीए नोकरशाहद्वारा चलाइनुपर्ने पनि राज्यपालसमक्ष माग राखेका थिए। यसअवसरमा सांसदले दार्जीलिङ पहाड़मा शान्ति सुरक्षा सुनिश्चित गर्नका लागि लोकतन्त्र र कानूनको पुनर्स्थापनाको लागि हस्तक्षेप गर्ने राज्यपालसमक्ष माग गरेका थिए। उल्लेखनीय छ, सांसद विष्टले आज सिलगढ़ीमा दार्जीलिङ जिल्लाका निर्वाचित प्रतिनिधिहरूको एक बैठकअवधि राज्यपाल धनखड़लाई भेटका थिए।

राज्यपालसँग आजको भेटवार्तामा उनले बङ्गाल पुलिसको अन्याय-अत्याचार र झूटा मुद्दाहरूबाट बच्नका लागि अहिले पनि दार्जीलिङ पहाड़का ५०० युवालगायत भाजपामा सामेल भएका १६ जना नगरपार्षद् आ-आफ्ना घर परिवारदेखि टाढ़ा बस्न परिरहेको तथा उनीहरूलाई प्रतिदिन गम्भीर परिणाम भोग्न पर्नेजस्ता धम्कीहरू दिइरहेकोजस्ता मुद्दाबारे राज्यपाललाई अवगत गराएका थिए।

विष्टको दाबीका अनुसार उनका सबै कुरा राज्यपालले ध्यानपूर्वक सुनेर एकेक मुद्दालाई जाँच गर्ने आश्वासन दिएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here