जीटीएको विरोधमा गोरामुमोले चाँड़ै सर्वदलीय बैठक गर्ने

0
1278
बिहीवार बसिएको गोरामुमोको बैठक।

दार्जीलिङ, 26 सेप्टेम्बर : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-ले जीटीएको विरोधमा चाँड़ै एक सर्वदलीय बैठक गर्ने निर्णय गरेको छ। जीटीए सम्बन्धमा पहाड़का अन्य राजनीतिक दलहरूको मत र विचार बुझ्नका लागि तथा यसविरुद्ध ऐक्यबद्धता जनाउनका लागि आम सहमति बनाउन सर्वदलीय बैठक डाकिने निर्णय गरिएको बताइएको छ।

स्थानीय जिमखाना हलमा सम्पन्न गरिने उक्त बैठकको मिति आज तय नभए पनि बैठकमा सांसद राजु विष्ट अनि विधायक निरज जिम्बालाई पनि सामेल गराउने पार्टीको योजना रहेको पार्टीका प्रवक्ता महेन्द्र छेत्रीले जानकारी गराएका छन्।

बिहीवार यसै विषय लिएर गोरामुमो अध्यक्ष मन घिसिङले पार्टी कार्यालयमा पार्टीका सबै शाखा समितिका अध्यक्षहरूलाई लिएर एक बैठक गरेका थिए, जसमा विस्तृत चर्चा परिचर्चा गरिएपछि पार्टीले चाँड़ै एक सर्वदलीय बैठकको आयोजन गरी जीटीएको विरोधमा ठोस पदक्षेप ग्रहण गर्ने निर्णय लिइएको छेत्रीको भनाइ छ।

उनले भने, “गत लोकसभा र दार्जीलिङ विधानसभा चुनाउअघि जातीय एकता देखाउँदै जसरी सबै राजनीतिक पार्टी एकबद्ध भएका थिए, अब जीटीएको विरोधमा पनि त्यस्तै एकताको खाँचो परेको छ। यसैले जीटीएको विरोध अनि स्थायी राजनीतिक समाधानको पक्षमा सबै पार्टीले पुनः एकजुटता देखाउने समय आएको छ।”

स्मरण रहोस्, 22 सेप्टेम्बरको दिन गोरामुमोले पालन गरेको गोर्खाल्याण्ड जनजागरण दिवस समारोहलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष मन घिसिङले जीटीएको म्याद नबढ़ाउने माग गरेका थिए। यदि यसको म्याद बढ़ाएको खण्डमा गोरामुमोले पहाड़का सम्पूर्ण जनतालाई साथमा लिएर सड़कमा ओर्लिने पनि उनले चेताउनी दिएका थिए। यद्यपि घिसिङले चेताउनी दिएको केही दिन नबित्दै राज्य सरकारले पुनः जीटीएको कार्यकाल 6 महीनाको लागि बढ़ाएको थियो। यसैले पार्टीले आज एक बैठक गरी जीटीएको विरोधमा सर्वदलीय बैठक गर्ने योजना बनाएको हो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here