कोलकाता गएन जोइण्ट फोरम, बैठक दार्जीलिङ अथवा सिलगढ़ी सार्ने माग

0
1166
ओक्स चिया गोदामअघि गेट मिटिङमा उपस्थित श्रमिकहरू।

दार्जीलिङ, 25 सेप्टेम्बर :  राज्यका श्रममन्त्रीद्वारा आज 4 बजे कोलकातामा डाकिएको बैठकलाई दार्जीलिङ वा सिलगढी सार्ने माग गर्दै दार्जीलिङ पहाड़का श्रमिक सङ्गठनहरूले पत्राचार गरेका छन्।

विशेष दार्जीलिङ पहाड़का चियाश्रमिकहरूको बोनसबारे अहिलेसम्म पनि कुनै छलफल नभएको विरोधमा नै हिजो पहाड़का विभिन्न राजनीतिक पार्टीका श्रमिक सङ्गठनहरूले एकजुट बनेर विभिन्न आन्दोलनको घोषणा गरेका थिए।

यसबारे हिजो राति पहाड़का श्रमिक सङ्गठनहरूलाई दार्जीलिङका सह-श्रमायुक्तमार्फत् राज्यका श्रममन्त्रीले आज अर्थात् 26 सेप्टेम्बरको 4 बजे कोलकातामा बैठक राख्ने चाँजो मिलाएको जानकारी गराइएको थियो। तर, यति छोटो अवधिमा दार्जीलिङ पहाड़बाट कोलकाता जान असम्भव भएको कारण आज यहाँका श्रमिक सङ्गठनहरू कोलकाता नगएको विनय तामाङपन्थी गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लाण्टेशन लेबर युनियनका महासचिव भरत ठकुरीले जानकारी गराए।

उनले भने, “यसबारे जोइण्ट फोरमले मन्त्रीलाई आज एक फ्याक्स वार्ता पनि पठाएको छ, जसमा कोलकातामा आयोजन गरिने बैठकलाई सिलगढ़ी अथवा उत्तरकन्यामा सारे उचित हुने अपील गरिएको छ।”

यसका साथै दार्जीलिङ पहाड़का चियाश्रमिकहरूको बोनस विषयमा राज्य सरकारले हस्तक्षेप गरेकोमा राज्यका श्रममन्त्रीप्रति  ठकुरीले जोइण्ट फोरमको पक्षबाट आभार व्यक्त गरेका छन्।

यस विषय लिएर आज  पहाड़का सबै श्रमिक सङ्गठनले एक बैठकको आयोजन गरेका थिए। यद्यपि, आजको बैठकमा पूर्व घोषित कार्यक्रमहरू जारी रहेको साथै भोलिको कार्यक्रम पनि यथावत् रहने तय गरिएको उनले बताए।

यसैबीच, यी श्रमिक सङ्गठनहरूको निर्धारित आन्दोलनात्मक कार्यक्रमअनुसार, आज दार्जीलिङ पहाड़का प्रायः सबै चियाकमानका श्रमिकहरू डेढ़ घण्टा ढिलो गरी आफ्नो काममा गएको जानकारी पाइएको छ। किनभने, श्रमिक सङ्गठनहरूले आज बिहान 8 बजेदेखि 9.30 बजेसम्म ‘गो स्लो’ कार्यक्रमको घोषणा गरेका थिए।

यसै कार्यक्रमअनुसार, आज दार्जीलिङ पहाड़का चियाश्रमिकहरू डेढ़ घण्टा अबेर गरी काममा गएका हुन्।

उल्लेखनीय छ, दार्जीलिङ पहाड़का चियाश्रमिकहरूको बोनस अहिलेसम्म छलफल नभएको विरोधमा नै आज श्रमिक सङ्गठनहरूले बिहान 8 बजेदेखि साढे 9 बजेसम्म चियाश्रमिकहरूलाई एकदमै सुस्तसँग काम गर्ने अनि स्टाफ, सब्-स्टाफहरूलाई पनि पेन डाउन गर्ने आह्वान गरेका थिए।

यसरी नै 27 सेप्टेम्बरको अपरान्ह 1 बजेदेखि 3 बजेसम्म दार्जीलिङ शहरका दोकानेहरूलाई आ-आफ्नो दोकानको सटर आधा बन्द गरिदिने अपील गरेका छन्। जसअनुसार, आज बिहान पहाड़का धेरैवटा चियाकमानमा गेटसभा भएको थियो भने निर्मित चिया बाहिर लान पनि नदिइएको जानकारी पाइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here