नीरज जिम्बाद्वारा एनआरसी विषयमा गृह मन्त्रीलाई पत्राचार

0
1038
विधायक नीरज जिम्बा (फाइल फोटो)।

दार्जीलिङ, 26 सेप्टेम्बर : दार्जीलिङका विधायक नीरज जिम्बाले राष्ट्रिय नागरिक पञ्जी (एनआरसी) विषयक बुधवार केन्द्रिय गृह मन्त्री अमित शाहलाई पत्राचार गरेका छन्। विशेषगरी एनआरसीसम्बन्धमा गोर्खाको स्थितिबारे स्पष्टीकरणका लागि विधायकले गृहमन्त्रीलाई पत्राचार गरेको बताइएको छ।

यससम्बन्धमा जनसंवादसँग कुराकानी गर्दै जिम्बाले भने, “मैले गृहमन्त्रीलाई पठाएको पत्रमा एनआरसी सम्बन्धमा गोर्खाहरूको स्थितिबारे स्पष्टीकरणको माग गरेको छु। किनभने वर्तमानका गृहमन्त्री अमित शाह र पूर्वका गृहमन्त्री राजनाथ सिंहले एनआरसीमा गोर्खाहरू नछुट्ने  बताए तापनि असममा धेरै गोर्खा छुटेका छन्। यसका साथै भोलिको दिनमा बङ्गालमा एनआरसी लागू भएको खण्डमा दार्जीलिङ पहाड़, तराई डुवर्सका एकैजना गोर्खा पनि छुट्न नहुने माग गरेको छु।”

उनले थप भनेका छन्, “दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका गोर्खाहरू भूमिसँगै भारतमा आएका हुन्। यसैले गोर्खाहरू यहाँका मूलनिवासी हुन्। जसलाई एनआरसीले छुनु हुँदैन। त्यसैगरी भारतका अन्य प्रान्ततिर छरिएर बसेका गोर्खाहरूको पनि 200 वर्षको इतिहास छ। 200 वर्षको इतिहास रहेको गोर्खाहरू एनआरसीबाट छुट्नु दुर्भाग्य हो।”

जिम्बाका अनुसार पत्रमा एनआरसीबाट छुटेका गोर्खाहरूको समस्या पनि सुल्झाइनुपर्ने तथा उनीहरूलाई एनआरसीमा अन्तर्भुक्त गरी न्याय दिनुपर्ने मागसमेत पत्रमा गरेको उल्लेख गरिएको छ। उल्लेखनीय छ, जिम्बाले पटक पटक एनआरसीबाट एकैजना खाँटी गोर्खा पनि नछुट्ने दाबी गर्दै आएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here