सिलगढ़ी, 1 अक्टोबर : बलिवुड अभिनेता सुशील दाहियाले गोर्खा जातिको संस्कृतिलाई देशव्यापी रूपमा विस्तार गरिनुपर्ने कुरामा जोड़ दिएका छन्।
“गोर्खा जातिको संस्कृतिलाई उत्तर बङ्गालमा मात्र सीमित राख्नु हुँदैन। यसलाई यहाँबाट बाहिर निकालेर देशव्यापी विस्तार गरिनुपर्छ। ताकि अन्य समुदायहरूले पनि यसलाई बुझ्न र जान्न सकुन्”, उनले भने।
दाहिया एक कार्यक्रममा भाग लिनका लागि पछिल्लो 29 सेप्टेम्बरको दिन सिलगढ़ी आएका थिए। त्यसैबेला उनले जनसंवादसँग कुराकानी गर्दै आफूमा गोर्खा संस्कृति, परम्परा र वेशभूषाप्रति सानै उमेरदेखि प्रेम रहेकोले औधि मन पराउने बताए।
2004-मा दूरदर्शनबाट प्रसारित धारावाहिक ‘जासूस विजय’-मार्फत् प्रशंसा कमाएका उनले 19 वटा बलिवुड फिल्ममा अभिनय गरिसकेका छन्।
दाहियाको पहिलो फिल्म ‘ब्यान्ड बाजा बारात हो। यद्यपि उनले नो वान् किल्ड जेसिका’-मा जुन अभिनय गरे, त्यसलाई सबैले सकारेका थिए। यो फिल्मलाई राजकुमार गुप्ताले निर्देशन गरेका थिए।
दिल्लीनिवासी अभिनेता सुशील दाहिया विश्व पर्यटन दिवसको समारोहको समापन दिन अर्थात् 29 सेप्टेम्बरको दिन आयोजित फेशन शो कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित थिए। उक्त फेशन शो उदयीमान मोडलहरूलाई संस्कृति र पर्यटन प्रवर्धनका लागि प्रोत्साहित गर्न जातीय फेशन डिजाइनर अलका शर्माले आयोजन गरेकी थिइन्।
उक्त फेशन शोमा गोर्खा पहिरन लगाएर यी अभिनेता र्याम्पमा हिँड़ेका थिए। यसअवधि उनले राज बसु, अलका शर्मा र अन्यहरूले राम्रो कार्य गरिरहेको बताए। यद्यपि फेसन शो र यहाँका सामाजिक-आर्थिक कुरालाई बाहिर लैजानुपर्ने आवश्यकतामाथि जोड़ दिए।
“यसलाई दिल्ली, मुम्बई, जयपुर, लखनउ पुर्याउनुहोस्। शिमला, नैनीतालजस्ता पर्वतीय शहरमा लिएर जानुहोस्। यसको क्षेत्रलाई अलिक विस्तार गर्नुहोस्। उत्तर बङ्गालमा मात्र यसलाई सीमित नराख्नुहोस्”, उनले थपे, “ताकि देशका अन्य समुदायहरूले पनि गोर्खा संस्कृतिबारे जानुन। यसको महत्त्वबारे बुझुन्। किनभने यो धेरै धनी संस्कृति हो। यसलाई विस्तार गर्न आवश्यक छ। यो क्षेत्रमा मात्र खुम्चाएर राख्नु हुँदैन।”
दाहियाका काका, हजुरबाबालगायत परिवारका अन्य सदस्यहरू गोर्खा रेजिमेण्टका सदस्य थिए। सुशीलका अनुसार उनका मामा दलवीर सिंह सुहाल गोर्खा रेजिमेन्टका उच्चाधिकारी थिए। त्यसैले पनि उनको परिवार गोर्खा र गोर्खा संस्कृतिका नजिकमा सधैँ छन्। उनका बावु डाक्टर हुन्। तर शुरुमा गोर्खा रेजिमेन्टमा नै कार्यरत थिए।
उल्लेखनीय छ, सुशील दाहियाले खेलेका बलिवुड फिल्महरूमा ब्यान्ड बाजा बारात (2010), नो वन किल्ड जेसिका (2011), पिङ्क (2018), बेबी (2015), गोल्ड (2018), सिक्रेड गेम्स (2018) ), वेब सिरिज ( 2018), सर्जिकल स्ट्राइक (2019), नो फादर्स इन् कश्मीर (201) र मेड इन् हेभन (2019) लगायत अन्य छन्।