दार्जीलिङ, ४ अक्टोबर : २० प्रतिशत बोनसको मागमा विभिन्न श्रमिक सङ्गठनद्वारा आज डाकिएको १२ घण्टे पहाड़अवधि दोकानपाट, यातायात र चियाकमानहरू पूर्ण रूपले ठप्प बनेका छन्।
यद्यपि बन्द छुट दिइएका आवश्यकीय सेवाहरू भने खुल्लै रहेको थियो। शुरु बन्द दार्जीलिङ, खरसाङ र मिरिकमा पालन गरिने भए तापनि विनयपन्थी गोजमुमोले चियाश्रमिकहरूको आन्दोलनलाई समर्थन जनाउँदै कालेबुङ पनि बन्द राख्ने घोषणा गरिएको कारण आज बिहानैदेखि कालेबुङ पनि सुनसान बनेको थियो।
यहाँ पनि दोकानपाट र वाहनहरूको पूर्ण रूपले ठप्प रह्यो। अर्कोतिर, आज विभिन्न चियाकमानका श्रमिकहरूले खरसाङमा ऱ्याली पनि निकालेको बताइएको छ।
यसैबीच, रिले अनशनको दोस्रो दिन पनि आज विभिन्न श्रमिक सङ्गठनको पक्षबाट १४ जना अनशनमा बसेका छन्, जसमा गोर्खा लीग भारती गुटबाट लक्ष्मण प्रधान पनि सामेल छन्। हिजो पहिलो दिनको रिले अनशनमा गोर्खा लीगको भारती गुट सामेल थिएन।
अर्कोतिर २० प्रतिशत बोनसको मागमा आन्दोलन गरिरहेका ७ राजनीतिक दलका श्रमिक सङ्गठनहरूको आज सभा बसिएको सुनिल राईले बताएका छन्। बैठकमा रिले अनशनलाई जारी राख्ने निर्णय गरिएको छ।