12 घण्टे पहाड़ बन्द पूर्ण सफल, भोलि पनि जारी रहने रिले अनशन

0
1594
पहाड़ बन्दावधि सुनसान दार्जीलिङ।

दार्जीलिङ, 4 अक्टोबर : 20 प्रतिशत बोनसको मागमा पहाड़का विभिन्न राजनीतिक दलका श्रमिक सङ्गठनहरूले आह्वान गरेको 12 घण्टे बन्द पूर्ण रूपले सफल भएको छ।

आज बन्दावधि दार्जीलिङ, खरसाङ, कालेबुङ र मिरिकअन्तर्गत्का क्षेत्रहरूमा दोकानपाट, चियाकमान र वाहनहरू पूर्ण रूपले बन्द रहे। यद्यपि बन्दबाट राष्ट्रिय राजमार्ग 10 -लाई छुट दिइएकोले गान्तोक-सिलगढ़ीमागी वाहनहरूको आवागमन भने सुचारू रहेको थियो। बन्द बिहान 4 बजेदेखि अपराह्न 4 बजेसम्म आह्वान गरिएको थियो।

उल्लेखनीय छ, चियाश्रमिकहरूको पक्षमा 7 वटा राजनीतिक दलका श्रमिक सङ्गठनहरूले 20 प्रतिशत बोनसको मागमा आह्वान गरिएको यो 12 घण्टे बन्द शुरुमा दार्जीलिङ, खरसाङ र मिरिक क्षेत्रमा पालन गरिने भनिए तापनि चियाश्रमिकहरूको न्यायसङ्गत माग र अधिकारप्रति समर्थन जनाउँदै विनयपन्थी गोर्खा जनमुक्ति मोर्चाले कालेबुङमा पनि बन्द पालन गर्ने घोषणा गरेको कारण आज कालेबुङ पनि अचल बनेको हो।

बन्दको कारण दार्जीलिङ पहाड़का दोकानपाट, चियाकमान र यातायात ठप्प रहे तापनि बन्दबाट छुट दिइएका आवश्यकीय सेवाहरू भने खुलै रहेको थियो।

यसैबीच, पहाड़का चियाश्रमिकहरूको पक्षमा आह्वान गरिएको बन्दलाई सफल बनाउन सहयोग पुर्‍याउने सबैप्रति मार्क्सवादी कम्युनिस्ट पार्टी (माकपा) नेता एवं पूर्व सांसद समन पाठकले आभार प्रकट गरेका छन्।

उनले स्थानीय मोटर स्ट्याण्टअघिको रिले अनशन भोलि पनि जारी रहने तर युनिटस्तरमा बसिएको रिले अनशन भने आजैदेखि उठाइएको जानकारी गराएका छन्। यसैले  पाठकले युनिट स्तरमा बसिएको रिले अनशन समाप्त गर्ने अपील गरेका छन्।

उनका अनुसार युनिटस्तरको कार्यक्रमलाई स्थगित गरिए तापनि निर्मित चिया बाहिर लान नदिने तथा गो स्लो, पेन डाउन र गेट मिटिङजस्ता आन्दोलनात्मक कार्यक्रमहरू भने सबै चियाकमानमा जारी रहनेछन्।

यसका साथै माकपा नेता समन पाठकले पर्सि अर्थात् 6 अक्टोबरदेखि चियाश्रमिकहरूको पक्षमा आमरण अनशन बस्ने गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङको निर्णयलाई सबै श्रमिक सङ्गठनले स्वागत जनाएको बताएका छन्।

स्मरण रहोस्, दशैं मुखैमा रहे तापनि दार्जीलिङ पहाड़का चियाश्रमिकहरूले बोनस पाउन सकिरहेका छैन। जसको कारण चियाश्रमिकहरू बिचल्लीमा परेका छन्। मालिकपक्षले विभिन्न बहाना र घाटा देखाएर 15 प्रतिशतभन्दा बढ़ीको दरले बोनस दिन नसक्ने अड़ानमा अडिग रहेपछि अहिलेघरी श्रमिक सङ्गठन र चियाश्रमिकहरू आन्दोलित बनेका छन्।

मालिकपक्षको यस्तो एकपक्षे र अन्यायपूर्ण अड़ानविरुद्ध श्रमिक सङ्गठनहरू गोलबद्ध बनेर आन्दोलन गरिरहेका छन्। आन्दोलनात्मक कार्यक्रमकै अंशको रूपमा आज 12 घण्टे बन्द डाकिएको हो भने हिजैदेखि रिले अनशन जारी छ, जुन भोलिसम्म चल्ने बताइएको छ।

यसैबीच, आज आन्दोलनरत् श्रमिक सङ्गठनहरूको एक बैठक सम्पन्न भयो, जुन सभामा उल्लिखित निर्णय लिइएको बताइएको छ।

यसबारे बोल्दै क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-का नेता सुनिल राईले भने, “आज हामीले एक बैठक गर्‍यौं, जसमा रिले अनशनलाई भोलि पनि जारी राख्ने निर्णय गरेका छौं। यद्यपि युनिटस्तरमा विभिन्न चियाकमान बसिएको रिले अनशन भने उठाइदिने हामी अपील गर्दछौं। पछिल्लो 30 सेप्टेम्बरको दिन कोलकातामा बसिएको त्रिपक्षीय बैठकमा हामी 1 प्रतिशत तल झरेर 19 प्रतिशत दरको बोनस स्वीकार्ने बताएका थियौं। तर, मालिकपक्ष 15 प्रतिशतभन्दा माथि जानै मानेन। अब हामी 20 प्रतिशतभन्दा अलिकति पनि तल झर्नेछैनौं।”

उल्लेखनीय छ, दार्जीलिङ पहाड़मा पाँचौं चरणसम्म बसिएको बैठकमा मालिकपक्ष 8.33 बाट केही माथि चढ़ेर 11.50 प्रतिशतसम्म पुगेको थियो। तर, यति थोरै दरको बोनस दिने मालिकपक्षको अडानलाई सबै श्रमिक सङ्गठनले एकैस्वरमा अस्वीकार गरेका थिए।

यसरी पाँचै चरणको बोनस बैठक विफल बनेपछि पछिल्लो 30 सेप्टेम्बरको दिन राज्य सरकारको पहलमा कोलकातामा त्रिपक्षीय बैठक सम्पन्न भएको थियो, जुन बैठकमा मालिकपक्षले 15 प्रतिशतभन्दा बढ़ी दरको बोनस दिन नसक्ने अड़ानमा अडिग बसेपछि पहाड़का श्रमिक सङ्गठनहरूले बैठक बहिष्कार गरेका थिए। त्यसपछि यता श्रमिक सङ्गठनहरू 20 प्रतिशत बोनसको मागमा आन्दोलित बनेका छन्।  

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here