दार्जीलिङमा ओयोको बुकिङमाथि प्रतिबन्ध

0
1126
पत्रकारहरूलाई सम्बोधन गर्दै होटल ओनर्स एसोसिएशनका सदस्यहरू।

दार्जीलिङ, 4 अक्टोबर : दार्जीलिङ घुम्न आउने पर्यटकहरूले अब यहाँका होटलहरूमा ओयोमार्फत् बुकिङ गर्न सक्नेछैनन्। किनभने दार्जीलिङका होटलहरूले ओयोको बुकिङमाथि प्रतिबन्ध लगाएका छन्। ओयो कम्पनीले दार्जीलिङका होटलहरूमाथि छलकपट गरेकै कारण बुकिङमाथि प्रतिबन्ध लगाइएको बताइएको छ।

शुक्रवार दार्जीलिङ होटल ओनर्स एसोसिएशनले यस्तो घोषणा गरेको हो। यसका साथै एसोसिएशनले दार्जीलिङ घुम्न आउने पर्यटकहरूलाई ओयोद्वारा बुकिङ गरी नआइदिने अपीलसमेत गरेको छ।

एसोसिएशनका अध्यक्ष साङ्गे छिरिङका अनुसार यदि पर्यटकहरूले सोझै होटलसँग सम्पर्क गरी कोठा बुकिङ गरेको खण्डमा ओयोभन्दा कम्ती भाड़ा लाग्नेछ। “ओयो कम्पनीले दार्जीलिङका होटलहरूलाई ठग्ने काम मात्र गरिरहेको छ”, छिरिङले थपे, “अहिलेसम्म दार्जीलिङका करिब 50 वटा होटलले ओयोबाट 50 लाख रुपियाँभन्दा अधिक पाउन बाँकी छ।”

यसैले आजैदेखि दार्जीलिङमा ओयोको बुकिङलाई आजैदेखि पूर्ण रूपले प्रतिबन्ध लगाएको उनले बताएका छन्।  दार्जीलिङ होटल ओनर्स एसोसिएशनका अध्यक्षका अनुसार यसका लागि धेरै समयदेखि ओयोका अधिकारीहरूलाई यहाँका होटलहरूले सम्पर्क गरिरहेका छन्। तर, उनीहरूले होटल सञ्चालकहरूलाई कुनै पत्तो नै दिएका छैनन्।

स्मरण गराइन्छ, मेक माई ट्रीप तथा अन्य कम्पनीहरूजस्तै ओयोले पनि पर्यटकहरूका लागि देशका विभिन्न स्थानमा रहेका होटल बुकिङ गर्नेगर्छ। यसरी नै पछिल्ला 4 वर्षदेखि ओयोले दार्जीलिङका कुल 400 होटलमध्ये करिब 50 वटा होटलसित एक सम्झौता गरी यी होटलहरूमा पर्यटकका लागि रूम बुकिङ गर्न थालेको थियो। तर, यी होटलहरूलाई ओयोले रूमको भाड़ा नै नदिएको होटल ओनर्स एसोसिएशनको आरोप छ।

यस विषय लिएर गत केही साताअघि होटल ओनर्स एसोसिएशनले ओयोका अधिकारीहरूसँग कुरा गरेको थियो। तर, अझैसम्म पनि यसमाथि ओयोको पक्षबाट ठोस कुनै पहल नभएपछि आजदेखि यसमाथि नै प्रतिबन्ध लगाउन बाध्य बनेको छिरिङले बताए।

यसका लागि एसोसिएशनले ओयोका 10 जना पदाधिकारीविरुद्ध पुलिस थानासँगै जीटीए अध्यक्ष, जिल्ला प्रशासनसमक्ष उजुरी गरिएको पनि बताइएको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here