6 अक्टोबरदेखि विनय आमरण अनशन बस्ने

0
1695
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै विनय तामाङ।

सिलगढ़ी, 4 अक्टोबर : गोर्खा जनमुक्ति मोर्चा दोस्रो खेमाका अध्यक्ष विनय तामाङले   चियाश्रमिकहरूका लागि 20 प्रतिशत बोनसको मागमा आउँदो 6 अक्टोबरदेखि आमरण अनशन  बस्ने अड़ानलाई दोहोर्‍याएका छन्।

शुक्रवार सिलगढ़ीस्थित जर्नलिस्ट क्लबमा पत्रकार सम्मेलन आयोजन गरी आमरण अनशन बस्ने अड़ानलाई दोहोर्‍याएका हुन्। केही दिनअघि  दार्जीलिङ पहाड़का चियाश्रमिकहरूको बोनसलाई लिएर कोलकातामा राज्य सरकारको पहलमा बसिएको त्रिपक्षीय बैठक विफल बनेपछि  तामाङले 20 प्रतिशत दरको बोनसको मागमा आमरण अनशन बस्ने घोषणा गरेका थिए।

यसका  लागि विनयले आजसम्म अर्थात् 4 अक्टोबरसम्मका लागि मालिकपक्षलाई समय दिएका थिए। उनले दिएको समय आज सकिँदासम्म पनि मालिकपक्षले यो मागबारे आँखा चिम्लेर बसेकै कारण 6 अक्टोबरदेखि अनशन बस्ने भएका हुन्।

अर्कोतिर, तामाङले चियाश्रमिकहरूका लागि सबै श्रमिक सङ्गठन एकजुट भएर लड़िरहेकोमा खुशी व्यक्त गरेका छन्।

उनका अनुसार चियाश्रमिकहरूका हक हित र अधिकारका लागि श्रमिक सङ्गठनहरूको एकजुटता दार्जीलिङको राजनीतिमा राम्रो सङ्केत हो।

यदि आमरण अनशनअवधि कुनै प्रकारको अप्रिय घटना घटेको खण्डको त्यसको दायी मालिकपक्ष हुने पनि बताएका छन्। साथै आजसम्मको समय दिए तापनि मालिकपक्षले कुनै प्रकारको तत्परता र प्रतिक्रिया नदेखाएकोमा  तामाङले आक्रोश व्यक्त गरेका छन्।

“मालिकपक्षको अन्यायकै कारण दशैं शुरु भए तापनि चियाश्रमिकहरूले अहिलेसम्म बोनस पाएका छैनन्”, उनले थपे, “पछिल्लो वर्षको तुलनामा यसवर्ष चियाको उत्पादन धेरै भएको छ। तर, गत वर्षको तुलना कम्ती बोनस दिन्छु भन्नु अन्याय हो।”

यसका साथै विनयले पहाड़का चियाकमानहरूमा तराई-डुवर्सका चियाकमानहरूभन्दा कम्ती दरको बोनस दिने कुरा अस्वीकार्य रहेको बताएका छन्।

उल्लेखनीय छ, विनय तामाङले केही दिनयता 20 प्रतिशत बोनसको मागमा आमरण अनशन बस्ने कुरालाई दोहोर्‍याउँदै आएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here