नरेन्द्र काम्बाङ
वर्तमान चियाकमानका श्रमिकहरूको आन्दोलन राज्य सरकारको शोषण र गैरजिम्मेवारीपूर्ण दृष्टिकोण तथा पहाड़को सत्तारूढ़ राजनीतिक पार्टीको असफलताकै कारण सृष्टि भएको समस्या हो। जानीजानी रचिएको राजनीतिक खेल हो, जसको नराम्रो असर श्रमिक परिवार अनि श्रमिक सङ्गठनमाथि परेको छ।
श्रमिक सङ्गठनका नियत र कार्यक्रममा हाम्रो कुनै नकारात्मक टिप्पणी छैन। तर, सय प्रतिशत सही नियतमा भीड़ जम्मा भएको छ भनी मूल्याङ्कन गर्न पनि सक्दैनौं। श्रमिक सङ्गठन श्रमिकका लागि आन्दोलन गर्नुपर्छ। र, गर्दै आइरहेकोमा हामी मतामत गर्दैनौं। तर, श्रमिक सङ्गठनको ब्यानरमा केही स्वार्थी नेताले हास्यास्पद तरिकाले फाइदा लुट्ने असफल कोशिश गरेको प्रष्ट हुँदैछ।
दार्जीलिङको इतिहासमा यो पालिको बोनस विवाद अभूतपूर्व नै हो। किनभने सरकारमा रहेका नेतृत्वहरू पनि श्रमिकहरूको सहानुभूतिको श्रेय पाउनका लागि रिले अनशनमा छन्। कतिजना भने अनशनकारीलाई खादा लगाएर मिडियामा सस्तो लोकप्रियता बटुल्ने दाउमा र ताकमा छन्।
गोजमुमो-२ र तृणमूलका नेताहरूको स्वाङ र ढर्रा अमान्य र अपच्य लागेको छ, हामीलाई। सायद अनशनकारीहरूलाई आश्चर्य नै लाग्नुपर्ने। कमानको मालिकलाई चियाश्रमिकका हक हित र अधिकारको पक्षमा झुकाउन किन पहाड़का राजनीतिक नेताहरूमा यतिसम्म पनि ताकत नभएको होला? कि वर्तमान श्रमिक आन्दोलन कुनै राजनीतिक महत्त्वाकांक्षाका लागि गरिएको नाटक मात्र हो?
विनय तामाङको आमरण अनशनको पछिल्तिरको कारण के छ? यो कुनै राजनीतिक स्वार्थप्रेरित या राजनीतिक कुटनीति होइन के! नत्र बङ्गाललाई यति ठूलो गोर्खाल्याण्ड आन्दोलनलाई विफल गराएर ममता सरकारको ठूलो घाउमा मलम लगाइदिएमा पहाड़का जनताको हितमा यो सानो समस्यालाई किन ममता ब्यानर्जीले विशेषता दिएको छैन।
गोजमुमोका संस्थापक अध्यक्ष विमल गुरुङले एक शब्दमा सुल्झाएको २० प्रतिशतको बोनस समस्या किन बङ्गालको सत्तारूढ़ दल तृणमूल कङ्ग्रेस र बङ्गालको एजेन्टरूपी दल गोजमुमो-2 का विनय-अनितले किन भोक हड़ताल गर्न परिरहेछ? कि त उनीहरूमा नेतृत्व क्षमता छैन या सबै कार्यक्रमको तारताम्य पूर्ण सुनियोजित नाटक मात्र हो। श्रमिक आन्दोलनलाई विनय-अनितको संस्थागत कार्यक्रमको रूपमा रङ्गाएर मूल्यहीन र निष्कर्षविहीन बनाउने सङ्केत देखिएको छ।