दुई किश्तीमा गरी २० बोनस दिइने, १२ प्रतिशत तिहारअघि, रहलका लागि नोभेम्बरमा बैठक बसिने

0
1017

दार्जीलिङ, ११  अक्टोबर : शुक्रवार पहाड़का चियाश्रमिकहरूको बोनसका लागि  कोलकातामा बसिएको त्रिपक्षीय बैठकमा मालिकपक्ष २० प्रतिशतको दरले बोनस दिने कुरामा सहमत भएको छ। यद्यपि उक्त बोनस दुई किश्तीमा दिइनेछ। जानकारीका अनुसार पहिलो किश्तीअनुसार १२ प्रतिशतको बोनस तिहारअघि र रहल ८ प्रतिशतको बोनसका लागि पुनः नोभेम्बर महिनामा बैठक बसिनेछ।

अर्कोतिर, दुई किश्तीमा बोनस दिइने कुरालाई लिएर जोइण्ट फोरम  विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-को श्रमिक सङ्गठन दार्जीलिङ, तराई, डुवर्स प्लाण्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-सँग असन्तुष्टि व्यक्त गरेको छ। सातवटा श्रमिक सङ्गठनको संयुक्त मञ्चको अड़ानको विपरीत दुई किश्तीमा बोनस दिइने कुरामा डीटीडीपीएलयूले सहमति जनाएपछि फोरम असन्तुष्ट बनेको हो।

 ‘२० प्रतिशत बोनस श्रमिकहरूलाई दिलाउनमा हामी सफल बनेका छौं। यद्यपि किश्तीमा होइन, एकैखेपमा बोनस दिनुपर्छ भन्ने हाम्रो माग थियो’, जोइण्ट फोरमका प्रवक्ता सुनिल राईले थपे, ‘तर, डीटीडीपीएलयूले दुई किश्ती बोनस थाप्ने कुरामा सहमति जनाएपछि आउँदो नोभेम्बरमा बसिने बैठकमा फोरमले भाग नलिने निर्णय गरेको छ।’

राईको आरोपका अनुसार चियाश्रमिकहरूलाई एकैखेपमा बोनस पाउन सकेको भए राम्रो हुनेथियो। ‘दशैंअघि नपाएको बोनस पनि दुई किश्तीमा यसको हामी विरोधमा छौं। किनभने हाम्रो माग २० प्रतिशत बोनस दिइनुपर्ने मात्र थिएन, तर बोनस एकैपटकमा बाँड़िनुपर्ने पनि थियो’, उनले भने।

तिहारअघि १२ प्रतिशतले बोनस दिने भनिए तापनि रहल ८ प्रतिशतका लागि नोभेम्बरमा कहिले बैठक हुनु हो त्यो निश्चित छैन। जानकारीका अनुसार बैठकको मिति पछि तय गरिनेछ। उनले भने, ‘हामीले हाम्रो लड़ाइँ जित्यौं, तर एकैपटकमा बोनस दिलाउन सकेको भए अझ राम्रो हुनेथियो।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here