दार्जीलिङ, 11 अक्टोबर : विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का कार्यकर्ताहरूले शुक्रवार पहाड़भरि सांसद राजु विष्टको पुतला जलाए।
पहाड़का चियाश्रमिकहरूलाई 20 प्रतिशतको बोनस दिइनुपर्ने मागमा स्थानीय मोटर स्ट्याण्डमा थालिएको आमरण अनशनलाई ‘नाटक’-को संज्ञा दिएपछि आक्रोशित बनेका विनयपन्थी मोर्चा कार्यकर्ताहरूले आज दार्जीलिङ र कालेबुङ जिल्लाका विभिन्न स्थानमा सांसदको पुतला जलाएका हुन्।
सांसदको पुतला दहनसँगै दार्जीलिङको राजनीतिक वातावरण पनि तातिएको छ। पुतला जलाउनका लागि ठाउँ ठाउँमा विनय समर्थकहरू जुटेका थिए।
दार्जीलिङमा सांसद विष्टको पुतला अनशनस्थलअघि नै जलाइएको थियो। यसअवधि ती समर्थकहरूले सांसदविरुद्ध नाराबाजी पनि गरेका थिए।
विनयपन्थी गोजमुमो नेता सन्दीप छेत्रीले सांसद राजु विष्टले विनय तामाङको आमरण अनशन सम्बन्धमा नकारात्मक टिप्पणी गरेपछि नै उक्त टिप्पणीको विरोधमा आज सांसदको पुतला जलाएर विरोध प्रदर्शन गरिएको बताए।
उनले सांसदको टिप्पणीको तीखो शब्दमा निन्दा पनि गरे। यसैगरी कालेबुङ र खरसाङलगायत अन्य स्थानमा पनि सांसद राजु विष्टको पुतला जलाइयो।