20 प्रतिशतले बोनस दिने भएपछि विनयले तोड़े आमरण अनशन

0
1260

दार्जीलिङ, 11 अक्टोबर : मालिकपक्षले 20 प्रतिशतको दरले बोनस दिने भएपछि गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङले आमरण अनशन तोड़ेका छन्। उल्लेखनीय छ, शुक्रवार कोलकातामा बसिएको दोस्रो चरणको त्रिपक्षीय बैठकमा मालिकपक्षले दुई किश्ती गरी 20 प्रतिशतको दरले बोनस दिन सहमति जनाएपछि विनय तामाङले आमरण अनशन तोड़ेका हुन्।

स्मरण रहोस्, पहाड़का चियाश्रमिकहरूलाई मालिकपक्षले 20 प्रतिशतको दरले बोनस दिइनुपर्ने मागमा पछिल्लो 6 अक्टोबर आइतवार अपराह्न 1 बजेर 15 मिनटदेखि तामाङले स्थानीय मोटर स्ट्याण्डमा आमरण अनशन शुरु गरेका थिए।

यसबारे बोल्दै विनयपन्थी मोर्चा नेता आलोक कान्तमणि थुलुङले मालिकपक्षले 20 प्रतिशतको दरले बोनस दिन राजी भएकै कारण अनशन तोड़िएको बताए। उनले यसलाई विनय तामाङ र गोजमुमो (दोस्रो खेमा)-को जीत बताएका छन्।

उनका अनुसार अनशन तोड़ेपछि तामाङलाई स्वाथ्योपचारका लागि दार्जीलिङ जिल्ला अस्पतालमा भर्ती गरिएको छ। थुलुङका अनुसार तामाङको स्वास्थ्य दिनदिनै सोचनीय बन्दै गइरहेको थियो। अपराह्न 4 बजे मोर्चा दोस्रो खेमाका अध्यक्षले अनशन तोड़ेको बताइएको छ। यसअवसरमा गोजमुमो दोस्रो खेमाका शीर्षस्थ नेताहरू उपस्थित थिए।

अर्कोतिर आलोक कान्तमणि थुलुङले पहाड़का चियाश्रमिकहरूको बोनसका लागि राज्यका मुख्यमन्त्री र श्रम मन्त्री मलय घटकप्रति आभार प्रकट गरेका छन्।

उल्लेखनीय छ, तामाङले मात्र होइन तर, 7 वटा विभिन्न राजनीतिक दलका श्रमिक सङ्गठनले पनि पहाड़का चियाश्रमिकहरूले 20 प्रतिशतको दरले बोनस पाउनुपर्ने माग गर्दै आइरहेका थिए।

यी श्रमिक सङ्गठनहरू 20 प्रतिशतको मागमा अडिग रहेको कारण दार्जीलिङस्थित डीटीएमा बसिएको पाँचौं चरण र कोलकातमा 30 सेप्टेम्बरको दिन सम्पन्न त्रिपक्षीय बैठक विफल बनेको थियो। किनभने मालिकपक्षले दार्जीलिङमा सम्पन्न द्विपक्षीय बैठकमा 11.50 तथा कोलकातामा सम्पन्न त्रिपक्षीय बैठकमा 15 प्रतिशतको दरले बोनस दिने अड़ानमा अडिग रहेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here