शहीद सुवास थापाको पार्थिव शरीर बाघडुग्रा ल्याइपुऱ्याइयो, भोलि अन्तिम संस्कार गरिने

0
1544

सिलगढ़ी, 13 अक्टोबर : शुक्रवार बिहानै रजौरी जिल्लाको नौशेरा सेक्टरमा पाकिस्तानी सेनाको गोलाबारीमा शहीद भएका नाइक सुवास थापाको पार्थिव शरीर आइतवार करिब 3:30 बजे विशेष विमानमार्फत बाघडुग्रा ल्याइपुर्‍याइयो भने भोलि अन्तिम संस्कार गरिनेछ। यसभन्दा अघि अन्तिम दर्शनका लागि शहीद थापाको पार्थिव शरीरलाई उनको घरमा बिहान 8 बजेदेखि 10 बजेसम्म राखिनेछ।  आज अपराह्न ल्याइपुर्‍याइएको उनको पार्थिव शरीरलाई बेङ्डुबी 158 बेस अस्पतालमा राखिएको छ।

आज शहीद थापाको दर्शन गर्न तथा श्रद्धाञ्जली चढ़ाउन का लागि 10 हजारभन्दा अधिक  मानिसहरू भेला भएका थिए।  जसले ‘पाकिस्तान मुर्दाबाद’ र ‘सुवास थापा अमर रहोस्’-जस्ता चर्को नारा लगाएका थिए।

यसअवसरमा शहीद थापालाई श्रद्धाञ्जली चढ़ाउनका लागि सेनाका उच्चाधिकारीवर्ग, भूतपूर्व सैनिक अधिकारीहरूलगायत राज्यका पर्यटन मन्त्री गौतम देव,  राज्यसभा सांसद शान्ता छेत्री, दार्जीलिङ जिल्लाकी जिल्लापाल दीपाप पी प्रियालगायत अन्य बाघडुग्रा पुगेका थिए। उनीहरूले शहीदको पार्थिव शरीरमा पुष्पार्पण गरी श्रद्धाञ्जली अर्पण गरे।

यसपछि शहीदको पार्थिव शरीरलाई 158 बेस अस्पताल लगियो। यसअवसरमा करिब दुई हजारभन्दा बढ़ी मानिसले इस्कर्ट गरेका थिए। यसैबीच सेनाका अधिकारीहरूले जनाएअनुसार आज राति बेस अस्पतालमा पार्थिव शरीर राखेर भोलि अन्तिम संस्कार गरिनेछ।

अर्कोतिर, छोरोको मृत्यु पीड़ा खप्न नसकेर बिरामी बनेकी शहीद सुवास थापाकी आमा पद्मा थापाले अहिले पनि बेस अस्पतालमा उपचाराधीन अवस्था रहेको बताइएको छ। छोरो शहीद बनेको खबर सुनेलगत्तै उनी शुक्रवार  बेहाल बनेकी थिइन् भने त्यसै दिन उनलाई अस्पतालमा भर्ती गरिएको थियो।

यसैबीच सुवासका पिता टेकबहादुर थापाले पाकिस्तानविरुद्ध कड़ा करबाही गर्ने माग केन्द्र सरकारसँग गरेका छन्।

“मेरा छोरोले देशका लागि आफ्नो प्राणको बलिदान दिएको मलाई गर्व छ। तर, म पाकिस्तानविरुद्ध कड़ाभन्दा कड़ा कारबाही गर्नुपर्ने माग केन्द्र सरकारसँग गर्दछु। ताकि सीमानामा प्रतिदिन हाम्रा सैनिकहरूले प्राण गुमाउन नपरोस्”, उनले भने।

यसैगरी मन्त्री गौतम देवले पनि सुवासको निधनमा गहिरो दुःख व्यक्त गरेका छन्। यसैबीच शहीद सुवास थापा प्रेम र सम्मान जनाउँदै बाघडुग्राका युवाहरूले फेसबुक र वाट्सएपमा उनको तस्वीर राखेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here