दार्जीलिङ, 14 अक्टोबर : पछिल्लो सात सातादेखि रङ्ली-रङ्लियट चियाकमानका श्रमिकहरूले रोज पाएका छैनन्। यति मात्र होइन, त्यहाँका स्टाफ, सब्-स्टाफले वेतन नपाएको पनि दुई महिना बितिसकेको छ। यद्यपि अहिलेसम्म यस चियाकमानका प्रबन्धकवर्गको कुनै अत्तोपत्तो नरहेको गोर्खा जनमुक्ति मोर्चाको श्रमिक सङ्गठन दार्जीलिङ, तराई, डुवर्स प्लाण्टेशन लेबर युनियनले बताइएको छ।
यसै विषयलाई लिएर सोमवार दार्जीलिङ तराई डुवर्स प्लाण्टेशन लेबर युनियनले रङ्ली-रङ्लियट चियाकमानका प्रबन्धक साथै मालिकविरुद्ध दार्जीलिङ सदर थानामा प्राथमिकी दर्ता गरेको छ। यसका साथै श्रमिक सङ्गठनले यस चियाकमानका मालिक अनि प्रबन्धकहरूलाई खोजेर ल्याइदिने पनि पुलिस प्रशासनसमक्ष माग गरेको छ।
यसबारे जानकारी गराउँदै गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लाण्टेशन लेबर युनियनका कार्यकारी अध्यक्ष जेबी तामाङले भने, “रङ्ली-रङ्लियट चियाकमानका श्रमिकहरूले गत 31 अगस्तदेखि आजसम्मको रोज पाएका छैनन् भने 19 अगस्तदेखि स्टाफ, सब्-स्टाफहरूको वेतन पनि भुक्तान गरिएको छैन। यति मात्रै होइन, दशैंअघिदेखि यस चियाकमानका दुईजना प्रबन्धक पनि बेपत्ता बनेको कारण आज उनीहरूविरुद्ध सदर थानामा प्राथमिकी दर्ता गरिएको हो।”
यी प्रबन्धकहरू दशैंअघि चियाको नमूना सिलगढ़ीमा देखाउन भनी गएका थिए, तर आजसम्म पनि फर्केर नआएको तामाङको भनाइ छ।
“उनीहरू के कारणले यहाँ नफर्किएका हुन् भन्नेबारे कसैलाई थाह छैन। यसैले अब जबसम्म यहाँका चियाश्रमिक अनि कर्मचारीहरूको रोज, बेतन र बोनस भुक्तान हुनेछैन, तबसम्म यी चियाकमानमा राखिएको 50 हजार किलोग्राम जति पक्का चिया यहाँबाट कतै लान दिइने छैन”, जेबी तामाङले भने।
उनले यस चियाकमानमा प्रबन्धकहरू नभए पनि श्रमिक, कर्मचारीहरूले आफ्नो काम पूर्ण इमान्दारितासित गरिरहेको पनि बताए।