एकैचोटि बोनस दिनुपर्ने माग, ऋषिहाटका श्रमिकहरूले दुई किश्तीमा बोनस नथाप्ने

0
1253

दार्जीलिङ, 14 अक्टोबर :  ऋषिहाट चियाकमानका श्रमिकहरूले एकै किश्तीमा बोनस दिनुपर्ने माग उठाउन शुरु गरेका छन्। उनीहरूले एकै किश्तीमा बोनस नदिए नथाप्ने निर्णय लिएका छन्। यसै माग लिएर आज ऋषिहाट चियाकमानका श्रमिकहरूले चियाकमान कार्यालयअघि गेटसभा गरे अनि सामूहिक हस्ताक्षर सङ्ग्रह गरी चियाकमान प्रबन्धकलाई एक ज्ञापन दिएका छन्।

यसको जानकारी गराउँदै गोरामुमोको श्रमिक सङ्गठन एपचीडब्ल्यूयू (हिमालयन प्लाण्टेशन वर्कर्स युनियन)-को ऋषिहाट शाखा समितिका महासचिव वीरमान लामाले भने, “हामी दार्जीलिङ पहाड़का सम्पूर्ण चियाश्रमिकहरूलाई 20 प्रतिशतको दरले एकै किश्तीमा बोनस दिनुपर्छ भन्ने माग लिएर अघि बढ़िरहेका थियौं। जसको लागि 5 पल्ट द्विपक्षीय अनि तीनपल्ट त्रिपक्षीय बैठक भएका थिए। गत 11 अक्टोबरको दिन कोलकातामा भएको त्रिपक्षीय बैठकमा 20 प्रतिशतको दरले बोनस दिन चियाकमान मालिकपक्ष राजी भए पनि यो दुइ किश्तीमा प्रदान गरिने भएको छ। जसमा प्रथम किश्ती 10 दिनभित्र प्रदान गरिसक्ने अनि दोस्रो किस्ताको लागि आगामी नोभेम्बर महीनामा फेरि अर्को बैठक गर्ने निर्णय भएको छ। यसैले नोभेम्बरमा हुने बैठकमा दोस्रो किश्तीको बोनस दिने मिति तय भएपछि मात्रै ऋषिहाट चियाकमानका श्रमिकहरूले दुवै किश्तीको बोनस एकैपल्टमा थाप्ने निर्णय लिएका छन्।”

यसै मागका लागि चियाबगान प्रबन्धन वा मालिकपक्षमाथि चाप दिने उद्देश्यले नै आज यहाँका चियाश्रमिकहरूले गेटसभा गरेको उनले बताएका छन्। उनले भने, “प्रथम किश्तीको बोनस दिएपछि चियाबगान मालिकहरूको कुनै भरोसा हुँदैन। यसैले एकै किश्तीमा बोनस नदिएसम्म यहाँका लगभग 500 चियाश्रमिक 12 प्रतिशतको मात्रै बोनस थाप्न राजी छैनन्। किनभने, दशैं जस्तो महान पर्व बोनसबिना नै समाप्त भइसकेको छ, अब दिवाली आउँछ, यो पर्वलाई पनि यहाँका चियाश्रमिकहरू बोनसबिना नै पालन गर्न तयार छन्। यसैले तिहारपछि नै होस्, एकै किस्तामा बोनस दिनुपर्छ।”

यद्यपि, कतिवटा चियाकमानमा प्रथम किस्ताको 12 प्रतिशतको दरले बोनस भुक्तान हुन शुरु भएको जोइण्ट फोरम प्रवक्ता सुनिल राईले जानकारी गराएका छन्। उनलाई ऋषिहाट चियाकमानका श्रमिकहरूको निर्णयबारे प्रश्न गर्दा उनले भने, “यो निर्णय यस चियाबगानका श्रमिकहरूको हो, यसमा जोइण्ट फोरमको केही भनाई छैन। तरै पनि दोस्रो किस्तामा दिइने बोनसको लागि जोइण्ट फोरम सतर्क बनेको छ।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here