मेडिकल कलेजको दयनीय अवस्थाबारे विष्टद्वारा ममतालाई पत्राचार

0
1015
मेडिकल कलेजको दयनीय अवस्थाबारे सांसद राजु विष्टले मुख्यमन्त्री ममता ब्यानर्जीलाई पठाएको पत्र।

सिलगढ़ी, 14 अक्टोबरः दार्जीलिङका सांसद राजु विष्टले सोमवार मुख्यमन्त्री ममता ब्यानर्जीलाई एउटा पत्राचार गरेर उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल (एनबीएमसीएच)-को समस्या र अन्य मुद्दाबारे ध्यानाकार्षण गराएका छन्।

आफूले पछिल्लो 2 अक्टोबरको दिन उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालको छड़्के भ्रमण गरेको तथा उक्त भ्रमणअवधि यसको दयनीय अवस्था, पूर्वाधारको अभाव जाँच उपकरणहरूको उपलब्धता देखेर भयभित भएको पनि पत्रमा बताएका छन्।

पत्रमा सांसदले उल्लेख गरेअनुसार डाक्टर, नर्स र अन्य सहयोगी कर्मचारीहरूको ठूलो अभावकै कारण उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल काम नलाग्ने अवस्थाको भएको छ। यसका साथै उनले यो वर्ष दशैं उत्सवका तीन दिनभित्र  103 जनाको मृत्यु भएको बताएका छन्।

फोहोरको असामान्य अवस्था र सरसफाइको पूर्ण अभाव देखेर म सबैभन्दा बढ़ी अचम्भित भएको बताउँदै उनले मुख्यमन्त्रीलाई एनबीएमसीएचमा यी कमजोरीहरू जाँच्नका लागि एउटा टोली गठन गर्न अनुरोध गरेको पनि विष्टले बताएका छन्।

‘मुख्यमन्त्रीलाई एनबीएमसीएच र अन्य अस्पतालहरूमा अनौपचारिक भ्रमण गरेर कर्मचारीहरूलाई काम गर्ने अवस्था कत्तिको दयनीय छ अनि बिरामीहरूलाई प्रदान गरिएको उपचारको गुणस्तर कस्तो छ भन्ने विषयलाई पनि जाँच्न अनुरोध गरेको छु’, सोमवार एक प्रेस विज्ञप्ति जारी गरी उनले भनेका छन्।

यसका साथै उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पताल र दार्जीलिङ संसदीय क्षेत्रका अन्य सबै अस्पतालको दयनीय स्थितिमा सुधार ल्याउनसक्ने कुरामा आफूमा दृढ़ विश्वास रहेको पनि उनले बताएका छन्।

‘यसका लागि म राजनीतिक र वैचारिक मतभेद भए तापनि सबै सरोकारवालासम्म पुग्न तयार छु’, विष्टले भनेका छन्, ‘हाम्रो क्षेत्रका सबै सार्वजनिक कर्मचारीहरूलाई क्षेत्रमा स्वास्थ्य सेवाको सुविधा सुधार गर्न एकजुट भएर काम गर्न अनुरोध गर्दछु।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here