एकैचोटि २० प्रतिशतको बोनस दिनुपर्ने एचपीडब्ल्यूयूको माग

0
1336
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एचपीडब्ल्यूयूका पदाधिकारीवर्ग।

दार्जीलिङ, १५ अक्टोबर : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो)-को श्रमिक सङ्गठन हिमालयन प्लाण्टेशन वर्कर्स युनियन (एचपीडब्ल्यूयू)-ले पनि अब एकैचोटि २० प्रतिशतको बोनस दिनुपर्ने माग उठाउन शुरु गरेको छ।

मङ्गलवार यसै विषय लिएर एचपीडब्ल्यूयूले सबै शाखा समितिका पदाधिकारीहरूलाई लिएर एक बैठक गरेपछि यस्तो निर्णय लिएको युनियनका कार्यकारी अध्यक्ष डीके गुरुङले बताएका छन्।

तर, ११ अक्टोबरको दिन कोलकातामा भएको त्रिपक्षीय बैठकमा भएको सम्झौतामा एचपीडब्ल्यूयूले पनि हस्ताक्षर गरी दुई किश्तीमा दिने बोनसलाई स्वीकार गरिसकेको बारे प्रश्न गर्दा गुरुङले भने, “हो एचपीडब्ल्यूयूले गत ११ अक्टोबरको दिन भएको सम्झौतामा हस्ताक्षर गरेको छ। तर, त्यसलाई दार्जीलिङ पहाड़का श्रमिकहरूले अस्वीकार गरी एकैसाथ २० प्रतिशतकै दरले बोनस थाप्ने अड़ान राखेपछि नै एचपीडब्ल्यूयू पनि जनताको इच्छालाई नै शिरोपर गर्न बाध्य बनेको हो।”

यसैले अब एचपीडब्ल्यूयूले पनि २० प्रतिशत दरको बोनस एकै किश्तीमा दिनुपर्छ भन्ने मागलाई लिएर आउँदा कार्यक्रमहरू गर्ने उनले बताए। यसका लागि आगामी १५ नोभेम्बरभित्र त्रिपक्षीय बैठक गरेर ८ प्रतिशतको बोनस दिने मिति पनि तय गर्नुपर्ने तथा एकैसाथ दुवै किश्तीको बोनस भुक्तान गर्नुपर्ने पनि माग राखेको गुरुङको भनाइ छ।

पहाड़का चियाश्रमिकहरूले किन एकै किश्तीमा बोनस दिनुपर्ने माग गर्नथाले भन्नेबारे स्पष्टीकरण दिँदै एचपीडब्ल्यूयूका कार्यकारी अध्यक्ष गुरुङले भने, “११ अक्टोबरको दिन भएको सम्झौतामा १२ प्रतिशत दरको बोनस १० दिनभित्र भुग्तान गर्ने कुरा भएको थियो। तर, रहल ८ प्रतिशतको बोनस दिनेबारे नोभेम्बरमा बैठक हुने भए पनि मिति तय गरिएको छैन। यसैले यो नोभेम्बरमा हुने बैठक कहिले हुन्छ वा हुँदैन भन्ने विषय लिएर चियाश्रमिकहरूमा अन्योल छाएको कारण नै उनीहरूले एकैचोटि २० प्रतिशतकै दरले बोनस दिनुपर्ने माग गरेका हुन्।”

यसबाहेक दार्जीलिङ टी एसोसिएशन (डीटीए)-का मुख्य सल्लाहकार सन्दीप मुखर्जीको बयान पनि अर्को कारण रहेको उनले बताए। गुरुङले भने, “कोलकातामा भएको बैठकमा भाग लिने श्रमिक सङ्गठनका नेताहरू दार्जीलिङ आइपुग्दा नपुग्दा डीटीएका मुख्य सल्लाकारले ८ प्रतिशतका लागि अर्को वर्षको मार्च-अप्रेलतिर मात्रै बैठक हुनसक्छ भन्ने बयान दिएका थिए। यसकारण पनि चियाश्रमिकहरूले एकै किश्तीमा २० प्रतिशत दरको बोनस दिनुपर्ने माग गरेका हुन्।”

उनका अनुसार जनताको यस मागलाई सम्मान गर्दै एचपीडब्ल्यूयूले पनि २० प्रतिशत दरको बोनस एकै किश्तीमा दिनुपर्छ भन्ने माग हो। यसैगरी एचपीडब्ल्यूयूका कार्यकारी अध्यक्षले अम्बटे चियाकमानमा आजदेखि काम बन्द गरिएको विषयको पनि विरोध जनाएका छन् भने रङ्ली रङ्लियट चियाकमानका प्रबन्धकहरूलाई पनि शीघ्र कमानमा फर्काएर ल्याउनुपर्ने पुलिस प्रशासनसमक्ष माग गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here