रोशनको बयानमा विनयको कटाक्ष, भने – रोशन गिरीहरू गोर्खाल्यान्डका लागि होइनन् तर जीटीए चुनाउका लागि उत्सुक

0
1119
विनय तामाङ (फाइल फोटो)।
दार्जीलिङ, ३१ अक्टोबर :  विमलपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) –का नेतृत्वहरू छुट्टै राज्यका लागि होइन तर जीटीए चुनाउप्रति बढ़ी उत्सुक रहेको विनय तामाङले बताएका छन्।
मङ्गलवार विमलपन्थी गोजमुमोका महासचिव रोशन गिरीले एक प्रेस विज्ञप्ति जारी गरी विनय तामाङहरू गोर्खाल्यान्डविरोधी रहेको र उनीहरू अहिले राज्य प्रशासनको आड़ लिएर जीटीए चुनाउ जित्नमा आतुरिरहेको बयान दिएका थिए। रोशनको यसै बयानमाथि तत्कालै प्रतिक्रिया व्यक्त गर्दै विनय तामाङले भनेका भनेका छन्, कर्णल रमेश आलेहरूले 5 अक्टोबरको दिन केन्द्रिय गृहसचिवसमक्ष जीटीए चुनाउको प्रसङ्ग निकालेका हुन्। यसको आधारमा हेर्नु हो भने रोशन गिरीहरू गोर्खाल्यान्डका लागि होइन, तर जीटीए चुनाउका लागि उत्सुक रहेको प्रमाणित हुन्छ।
तामाङले विज्ञप्तिमा दुईपटक भाजपाका सांसदलाई दार्जीलिङ पहाड़ले बहुमतले जिताएर संसदमा पुऱ्याए तापनि भाजपाले गोर्खाल्यान्डको नाममा केही नगरेको बताएका छन्। उनका अनुसार भाजपाको कोर कमिटीले पनि गोर्खाल्यान्डको मुद्दालाई सहयोग गर्ने विषयमा अहिलेसम्म प्रस्तावसमेत पारित गरेको छैन। जुन दिन भाजपाले गोर्खाल्यान्डको बील सदनमा पारित गर्छ, त्यस दिन पहाड़का जनताले रोशन गिरी र विमल गुरुङहरूलाई स्वागत गर्नेछ, विनयले विज्ञप्तिमा लेखेका छन्।
 
दार्जीलिङमा गणतन्त्र छैन भन्ने गिरी आरोपप्रति पनि तामाङले जवाफ दिँदै विमल-रोशनको कार्यकालमा पहाड़का मानिसहरू खुलेर बोल्न नसकेको उल्टा आरोप लगाएका छन्।
 
रोशन गिरीले दार्जीलिङ पहाड़मा गणतन्त्र र प्रजातन्त्र नभएको आरोप लगाइरहेका छन्। तर दार्जीलिङ पहाड़मा गणतन्त्र र प्रजातन्त्र 2007 देखि 2017 सम्म थिएन, जतिबेला दार्जीलिङ पहाड़का जनताले विमल गुरुङ गुरुङ अनि रोशन गिरीहरूको विरुद्धमा खुलेर केही बोल्न सक्दैन थिए, गिरीको बयानमा प्रतिक्रिया व्यक्त गर्दै तामाङले थप आरोप लगाएका छन्, हास्यास्पद कुरा के रहेको छ भने दार्जीलिङ पहाड़मा गणतन्त्र र प्रजातन्त्र नरहेको आरोप ती व्यक्तिले लगाइरहेका छन्, जो स्वयं दार्जीलिङ पहाड़का वरिष्ठ राजनीतिक व्यक्तित्व मदन तामाङको हत्याकाण्डका मास्टर माइन्ड रहेको सङ्गीन आरोप झेलिरहेका छन्।
 
15 जुलाई 2010 –मा स्व. मदन तामाङको हत्याकाण्डको सन्दर्भमा राष्ट्रिय अङ्ग्रेजी दैनिक इन्डियन एक्सप्रेसले सार्वजनिक गरेको भोइस करेकर्डको डिटेल्स जनताले अझै नभुलेको उनले दाबी गरेका छन्। साथै उनले सीबीआई, सीआईडी र पश्चिम बङ्गाल सरकारलाई मदन तामाङको हत्याकाण्डको मुद्दा उक्त भोइस रेकर्डको आधारमा छानबिन शुरु गरी स्व. तामाङको परिवारलाई न्याय दिने अपील गरेका छन्।
 
विज्ञप्तिमा विनय तामाङले रोशन गिरी र विमल गुरुङमाथि धेरै आरोप लगाएका छन्। उनले विमल-रोशनलाई तानाताशीको संज्ञा पनि दिएका छन्। साथै विज्ञप्तिमा गिरीले लगाएका आरोपहरूका जवाफ दिँदै तामाङले उल्टो आरोप लगाएका छन्। उनले भनेका छन्, रोशन गिरी र विमल गुरुङ ती तानाशाही नेतृत्वहरू हुन्, जसले भारतको न्यायपालिका, कानून अनि प्रशासनभन्दा पनि माथि आफूहरूलाई सोच्ने गर्थे। र, उनीहरूले 2007 सालदेखि नै जबर्जस्ती न्याय व्यवस्थालाई हातमा लिएर धेरै अपराधिक अनि गैरकानुनी कार्यहरू गरे र  त्यस्ता कार्यहरूलाई प्रश्रय पनि दिए। यसैकारण उनीहरू हामीलाई पनि त्यस्तै दृष्टिकोणले हेरिरहेका छन् जो सरासर गलत हो।
 
झूटो बोलेर सत्ता हाँक्ने आदत रोशन गिरीलाई बसिसकेको विनयको आरोप छ। साथै यस्तो आदत बसिसकेका गिरीले जनजातिको सन्दर्भमा राज्यले पठाएको जनजातिको मुद्दाको सिफारिशलाई आरजीआईले खारेज गरेको कुरा जनताअघि भन्न नसकिरहेको तामाङले दाबी गरेका छन्। जनजातिको मुद्दाबारे गिरीहरूले दार्जीलिङ पहाड़का जनतालाई अन्धकारमा राखिरहेको उनको दाबी छ।
 
आफूहरूले पुलिस प्रशासन लगाएर मानिसहरूलाई धम्काउने कार्य गरिरहेको विमलपन्थी गोजमुमोका नेता रोशन गिरीले लगाएको आरोपलाई पनि विनय तामाङले झूटो बताएका छन्। 
 
उनले लेखेका छन्, कानून अनि प्रशासन कसैको गोजीको सम्पति होइन। उनीहरूले स्वतन्त्ररूपमा आफ्नो कार्य गर्ने गर्छन्। चाहे जोसुकै नै किन नहोस् यदि कसैमाथि सङ्गीन आपराधिक आरोपहरू  लागेका छन् भने कानून र प्रशासनले उनीहरूमाथि कारबाही गर्छ नै। यदि उनीहरू निर्दोष छन् भने कानूनअघि समर्पण गरेर कानुनी लड़ाइँ लड़ेर आफूलाई निर्दोष साबित गर्नुपर्ने हुन्छ। केही दिनअघि उनीहरूकै समूहका एकजना नेताले गोर्खाल्याण्डका लागि आफू जेल जानुसमेत राजी रहेको दाबी गरेका थिए, तर अहिले आएर विमल गुरूङजस्तो किन लुक्दै भागिरहेका छन्।
 
विज्ञप्तिमा आफूले कानूनको सम्मान गरेर कानुनी रूपमा लड़ेर सबै मुद्दामा जमानत पाइसकेको विनयको भनाइ छ। उनले आफू रोशन-विमलहरू जस्तो कानूनलाई अवमान्य गर्दै नभागेको पनि बताएका छन्।
 
यदि मैले चाहेको भए सरकारसित मिलेर मुद्दाहरू रफादफा गर्नु पनि सक्थे, तर म भारतको कानूनविरुद्ध जान चाहन्न र माननीय न्यायपालिकामाथि विश्वास राख्छुमाननीय न्यायपालिकाको कार्यप्रणालीमाथि हस्तक्षेप गर्न चाहन्न, किनभने जनप्रतिनिधि भएर जनतासामु कानून अनि संविधानलाई हातमा लिएर अराजकता फैलाउन जनतालाई प्रेरित गर्ने काम रोशन गिरीहरूले गर्न सक्छन् तर म त्यसो गर्न चाहन्न, उनले भनेका छन्, यदि रोशन गिरीहरू पनि आफैलाई निर्दोष दाबी गर्छन् भने कानूनलाई अवमान्य गरेर  होइन तर कानूनलाई सम्मान गर्दै न्यायिक मुद्दा लडून्
 

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here