कोलकाता, 16 अक्टोबर : टी बोर्डले दार्जीलिङ चियाको लिलामीको माध्यमबाट शतप्रतिशत बिक्री गर्ने व्यवस्थाबारे योजना बनाएको छ। यसका लागि चाँड़ै टी बोर्डले चियाकमानका मालिकहरूसँग बैठक गर्नेछ।
टी बोर्डका एक अधिकारीले बुधवार यसबारे जानकारी गराएअनुसार यसको उद्देश्य दार्जीलिङ चियाको मूल्य प्राप्त गर्नका साथै अनुचित व्यापार-मूल्य व्यवहारमाथि रोक लगाउनु हो।
जानकारीका अनुसार दार्जीलिङ पहाड़का 87 वटा चियाकमानबाट उत्पादित चियामध्ये धेरजसो बाहिर निर्यात गरिन्छ। चाय बोर्डका उपाध्यक्ष अरुण कुमार रेका अनुसार बोर्डले आउँदो तिहारपछि दार्जीलिङ टी एसोसिएशन (डीटीए)-सँग बैठक गर्नेछ। बैठकमा दार्जीलिङ चियाको शतप्रतिशत बिक्री लिलामीमार्फत गराउने सम्भावनाबारे चर्चा परिचर्चा गरिनेछ।
उनका अनुसार यसको मुख्य उद्देश्य दार्जीलिङ चियाको वास्तविक मूल्यलाई प्रकाशमा ल्याउनु हो। दार्जीलिङ चियालाई व्यापारका लागि विशिष्ट भौगोलिक पहिचान (जीआई ट्याग) प्राप्त छ। यसैले दार्जीलिङ चियाको शतप्रतिशत बिक्री लिलामीमार्फत् गराएको खण्डमा जीआई ट्याग सुरक्षित हुने पनि विश्वास गरिएको छ।