दार्जीलिङ, 17 अक्टोबर : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोजमुमो)-को श्रमिक सङ्गठन हिमालयन प्लाण्टेशन वर्कर्स युनियन (एचपीडब्ल्यूयू)-ले ‘अनित थापाको टेलिफोनकै कारण आज पहाड़का चियाश्रमिकहरूले दुई किश्तीमा बोनस थाप्न बाध्य बनिरहेको ठोकुवा गरेको छ।
बुधवार विनयपन्थी गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ, तराई, डुवर्स प्लाण्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-ले बोनस वितरणपछि एचपीडब्ल्यूयूमाथि लगाएको आरोपबारे जवाफ दिँदै ऋषिहाट शाखाका महासचिव वीरमान राईले बिहीवार पत्रकार सम्मेलनको आयोजन गरी यस्तो दाबी गरेका हुन्।
उनले डीटीडीपीएलयूको आरोपलाई निराधार बताउँदै उल्टो गोजमुमो-2 र यसका श्रमिक सङ्गठनले श्रमिकहरूको हितविपरीत कार्य गरिरहेको आरोप लगाए।
राईको दाबीका अनुसार सबै श्रमिक सङ्गठन एकबद्ध भएर 20 प्रतिशत बोनस एकैखेपमा दिनुपर्ने माग गरिरहेको बेला दुई किश्तीको बोनस स्वीकार्ने गोजमुमो-2 र यसको श्रमिक सङ्गठन हो।
“11 अक्टोबरको दिन बसिएको त्रिपक्षीय बैठकमा 2-3 बजीसम्म 20 बोनसको दरले बोनस दिने कुरा मिलिसकेको थियो। तर, दुई किश्तीको कुराले बैठक अड्केको थियो। यो दुई किश्तीको कुरालाई जोइण्ट फोरमले मानेको थिएन। तर, बैठक हुँदै गर्दा 4 बजे जीटीएका अध्यक्ष अनित थापाले श्रम मन्त्री मलय घटकलाई फोन गरी विनय तामाङको अवस्था देखाएर दुई किश्तीलाई स्वीकारेपछि जोइण्ट दुई किश्तीमा झर्नुपरेको हो”, राईले थपे।
उनले डीटीडीपीएलयूले सत्य कुरा गर्नुपर्ने बताए। तर, सत्य कुरा चियाश्रमिकहरू बुझाउनबाट डीटीडीपीएलयूका अध्यक्ष करुणा गुरुङ र कार्यकारी अध्यक्ष जेपी तामाङहरू तर्किरहेको पनि एचपीडब्ल्यूयू ऋषिहाट चियाकमानका महासचिवले दाबी गरे।
यसैगरी उनले विनय तामाङको अनशनलाई जोइण्टको आन्दोलनमाथि गरिएको ‘हस्तक्षेप’-को संज्ञा दिएका छन्।
“सधैं त राम्रो कुरा हुँदा करुणा गुरुङ, जेपी तामाङहरूले कुदेर आएर सबैभन्दा पहिला पत्रकार सम्मेलन गर्थे त। तर, आज किन उनीहरू बोल्दैनन्”, उनले थपे, “उनीहरूलाई हाम्रो चुनौती छ, सत्य कुरा जनतालाई बताउनुहोस्। जबसम्म 20 प्रतिशतको बोनस ठ्याम्मै मिल्दैन, तबसम्म म श्रमिकहरूका हितमा ज्यान दिन्छु भन्ने विनय दाजुले दुई किश्तीको बोनसमा अनशन उठाएको छ।”
अर्कोतिर, पछिल्लो वर्ष पनि विनयपन्थी मोर्चा र यसको श्रमिक सङ्गठनले चियाश्रमिकहरूलाई धोका दिएको उनको आरोप छ।
“पछिल्लो वर्ष 15 प्रतिशतको बोनसमा हस्ताक्षर गर्ने तपाईंहरू नै हो”, राईले थपे, “15 प्रतिशतमा हस्ताक्षर गरेर आएपछि भारत दाजुहरूले श्रमिकहरूलाई 15 प्रतिशतको बोनस थाप्नुहोस्, रहल 5 प्रतिशत ‘एरियर’-को रूपमा तिहारअघि दिन्छ भन्नुभयो। चियाश्रमिकहरूले तिहार पर्खिबसे तर 5 प्रतिशत एरियरको रूपमा दिएन। दिसम्बर-जनवरी महिना बितिसक्दा पनि दिइएन। त्यसपछि एचपीडब्ल्यूयूले कार्यक्रम शुरु गरेको हो।”
यसअवधि उनले डीटीडीपीएलपीयू र विनयपन्थी मोर्चालाई धेरै मुद्दामा घेरे। साथै एचपीडब्ल्यूयूले झूट नबोकीकनै चियाश्रमिकहरूको हितमा काम गरिरहेको ठोकुवा गरे। राईले विशेषगरी विनय तामाङको अनशनमाथि प्रश्न गरेका छन्।
“अब विनय तामाङको जयजयकार हुँदैन”, उनले भने। राईका अनुसार अनशन बसेर जनता र चियाश्रमिकहरूलाई हातमा लिएर 2021-को चुनाउ जित्छु भन्ने उद्देश्य राखेको विनयपन्थी गोजमुमोको जनाधार अझै घटेर शून्यमा आएको बताए।
यसका साथै एचपीडब्ल्यूयूले शान्तिपूर्ण र गणतान्त्रिक ढङ्गमा आफ्नो कार्य गरिरहेको पनि ठोकुवा गरे।