एनआरसीबाट करिब दुई लाख गोर्खा छुटेका छन् : आरपी शर्मा

0
1411
पूर्व भाजपा सांसद आरपी शर्मा।

सिलगढ़ी, 18 अक्टोबर : असम तेजपुरका पूर्व भाजपा सांसद आरपी शर्माले राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-बाट करिब दुई लाख गोर्खाको नाम छुटेको बताएका छन्। यसका साथै उनले एनआरसीले असमलाई ध्वंस पारेको पनि बताएका छन्।

शुक्रवार सिलगढ़ीस्थित पिण्टेल भिलेजमा कालेबुङका पत्रकारहरूसँग कुराकानी गर्दै पूर्व सांसद शर्माले यस्तो बयान दिएका हुन्। उनी आज गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङ भेट्न तथा उनको स्वास्थ्यबारे जानकारी लिन पिण्टेल भिलेज आएका छन्।

शर्माका अनुसार व्यक्तिगत भ्रमण सिलगढ़ी आएको बेला आज उनी विनय तामाङलाई भेट्न पिण्टेल भिलेज पुगेका हुन्।

“एनआरसीले असमलाई समेत गोर्खा-नेपाली र बङ्गालीलाई पनि ध्वंस पार्‍यो। करिब दुई लाख गोर्खाको नाम एनआरसीबाट छुटेको छ”, उनले थपे, “गोर्खा र बङ्गालीमाथि विदेशीको दाग लागेको आजदेखि होइन, 1979 देखि नै हो। अहिले पनि हामीलाई असम पुलिसले बङ्ग्लादेशी भनेर मुद्दाहरू फरेन ट्रिब्युनलमा रेफर गर्छ।”

उनका अनुसार नेपालका नागरिक ‘रेसिप्रोकल’-का आधारमा भारतमा बस्न, नोकरी-व्यवसाय गर्न सक्ने भएकोले असमका गोर्खाहरूलाई बङ्ग्लादेशी ठहर गरी फरेन ट्रिब्युनलमा असम पुलिसले मुद्दा हालिरहेको छ।

शर्माको भनाइका अनुसार यससम्बन्धित करिब 40 वटा मुद्दा असम उच्च न्यायालयमा मुद्दा चलिरहेको छ। यसका साथै यसै मुद्दामा उनीहरूले ‘असमका गोर्खाहरूको इतिहास’ रहेको 40-50 पृष्ठको एफिडेभिट बुझाएको पनि उनले बताएका छन्।

“बङ्ग्लादेशमा गोर्खाहरू छँदै छैनन्। तर, असमका गोर्खाहरूका बङ्ग्लादेशी भन्दै फरेन ट्रिब्युनलमा मुद्दा दर्ता गरिरहेका छन्। यो एकदमै गैरकानुनी कार्य हो”, उनले थपे। उनका दाबीका अनुसार डेढ़- दुईहजार मुद्दा फरेन ट्रिब्युनलमा चलिरहेका छन्।

यसका साथै असममा डाउटफुल भोटर्स (डी-भोटर) ठहर्‍याइएका 24 हजार गोर्खा रहेको पनि थप बताएका छन्। यसका लागि प्रधानमन्त्री, गृहमन्त्री र मुख्यमन्त्रीलाई पनि कतिपटक भेटेर बुझाउँदा पनि कुनै हल ननिस्केको उनको भनाइ छ।

भाजपाका पूर्व सांसद शर्माका अनुसार एनआरसीमा गोर्खाहरूले भन्दा ठूलो समस्या बङ्गालीहरूले भोगिरहेका छन्। एनआरसीबाट छुटेका 19 लाखमध्ये 13 लाख बङ्गाली हिन्दूको नाम छुटेको उनले दाबी गरेका छन्।

“यो सरकार (केन्द्र)-ले हिन्दू हिन्दू भन्छन्, तर हिन्दूहरू नै मरिरहेका छन्”, शर्माले थपे। उनले आफू सांसद छँदा पनि धेरैपटक प्रधानमन्त्री र गृहमन्त्रीलाई धेरैपटक भेटेको बताए। असमका मुख्यमन्त्रीलाई यस विषयमा सातामा एकपटक भेट गरेको उनको भनाइ छ।

यससम्बन्धमा उनले दार्जीलिङका सांसद राजु विष्टबाट ठूलो आशा राखेको तर उनले अहिलेसम्म कुनै पहल गरेको आफूहरूको जान्नमा नआएको बताए। यसको विपरीत विनय तामाङले भने यससम्बन्धमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई भेट गरेको पनि बताए।

साथै एनआरसीबाट छुटेका गोर्खाहरूको सन्दर्भमा बङ्गालकी मुख्यमन्त्रीले देशका प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट गरी ध्यानार्कषण गराएको दाबी गर्दै असमका गोर्खाहरूको पक्षमा  ममता ब्यानर्जीलाई धन्यवाद पनि दिए।

अर्कोतिर उनले एनआरसीलाई लिएर असम-बङ्गाल दुवैतिर मानिसहरू त्रसित रहेको बताए। शर्माले पत्रकारहरूसँगको कुराकानी अवधि राजु विष्टमाथि तीव्र कटाक्ष गरे।

“एनआरसी गोर्खाहरूमाथि लागू हुनेछैन भनेर केही हुँदैन। यो कुरा देशका प्रधानमन्त्रीले भन्नुपर्छ। असममा पनि मुख्यमन्त्रीले यस्तै कुरा भनेका थिए। तर, गोर्खाहरू छुटे”, उनले थपे, “संसदभित्र लड़्न सक्नुपर्छ। नत्र राजनीति गरेर केही फाइदा हुनेछैन।”

उल्लेखनीय छ, यसपालिको लोकसभा चुनाउमा तेजपुरबाट टिकट नपाएपछि उनले भाजपाविरुद्ध बयान दिँदै आइरहेका छन्। आजको कुराकानीमा आफू तेजपुर सीटलाई भाजपाका लागि  भारतमै सबैभन्दा सुरक्षित सीट बनाएको दाबी गरे। शर्माको गुनासो राज्य भाजपाले उनको नामै टिकटका लागि दिल्ली नपठाउनुमा रहेको पनि स्पष्ट पारे।

“दिल्लीले मेरो नाम काटेको भए ठीकै थियो। तर, यहाँ (असम)-बाट सिटिङ एमपीको नामै नपठाउनु ठूलो कुरा हो’, उनले थपे, “असम भाजपा र असम सरकारले गोर्खाहरूलाई हेपेर मेरो नाम नपठाएको हो। मैले भाजपा छोड़ेको थिइनँ, अस्ति 17 जुलाईदेखि छोड़ेको हुँ। हामी अर्कोपालिको चुनाउमा बद्ला लिन्छौं नै लिन्छौं, हेर्दै गर्नुहोला।”

यसका साथै उनले निरन्तर सङ्घर्ष  गरिरहे एकदिन अवश्यै गोर्खाल्याण्ड हुने ठोकुवा पनि गरे। उनको भनाइका अनुसार यद्यपि गोर्खाल्याण्डको आन्दोलन गणतान्त्रिक पद्धतिअनुसार गर्नुपर्ने बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here