दार्जीलिङ, 18 अक्टोबर : दार्जीलिङमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको बक्सिङ प्रतियोगिता हुने भएको छ। कङ्गो, अफगानिस्तानसमेत भारतका गरी कुल 30 प्रतियोगीले भाग लिने यो अन्तर्राष्ट्रिय स्तरको बक्सिङ प्रतियोगिता आउँदो 16 नोभेम्बरको दिन सम्पन्न हुनेछ।
फिटनेश वारियरको आयोजना तथा इण्डियन बक्सिङ काउन्सिलको सहयोगमा सम्पन्न हुने यस प्रतियोगितालाई सफल बनाउन विभिन्न गैरसरकारी संस्था पनि सहयोगको हात बढ़ाउन अघि आएका छन्।
दार्जीलिङ हुने यो पहिलो अन्तर्राष्ट्रियस्तरको बक्सिङ प्रतियोगितामा 14 प्रतिस्पर्धा (फाइट) हुने आयोजक समितिले बताएको छ। फिटनेश वारियरले दार्जीलिङमा एक बक्सिङ एकाडेमी स्थापना गर्ने उद्देश्यले नै यो प्रतियोगिताको आयोजना गरेको यसका प्रवक्ता शिशिर मोक्तानले बताएका छन्। उनले यहाँ एक पत्रकार सम्मेलनको आयोजन गरी भने, “विशेष दार्जीलिङका युवावर्गलाई सही दिशामा अघि बढ़ाउनु अनि यसप्रकारको खेलकुदतिर प्रोत्साहित तुल्याउनु मूल उद्देश्य लिएर यो प्रतियोगिता आयोजना गरिएको हो।” यसका साथै बक्सिङजस्तो खेललाई दार्जीलिङमा अघि बढ़ाउन तथा यहाँका युवाहरूलाई यस खेलतर्फ आकर्षित गर्न पनि यो प्रतियोगी आयोजनको अर्को उद्देश्य रहेको उनको भनाइ छ।
मोक्तानले थप बताएअनुसार प्रतियोगीमा भाग लिने भारतका प्रायः खेलाड़ीहरू दिल्लीका छन्, जसको कारण उनीहरूको खेलले यहाँका युवाहरूमा पनि उत्साह जागोस् भन्ने चाहना आयोजक समितिको सोच छ। प्रतियोगितामा रेफरी, मेडिकल टीम आदि सबै इण्डियन बक्सिङ काउन्सिलबाटै आउने पनि उनले बताएका छन्।
मोक्तानका अनुसार प्रतियोगितामा भाग लिनका लागि कङ्गोबाट एकजना तथा अफगानिस्तानबाट दुईजना खेलाड़ी आउने निश्चित छ। यस प्रतियोगितालाई आयोजक समितिले ‘प्रो बक्स फाइट नाइट’-को नाम दिएको छ।
यसलाई सफल बनाउनका लागि दार्जीलिङ सेवा सङ्घले दार्जीलिङमा दुईदिने भानु र पाला नाटक प्रदर्शनी गर्ने भएको छ, जुन नाटकबाट सङ्ग्रह भएको राशि यो बक्सिङ प्रतियोगिता आयेजनाको लागि प्रदान गर्ने सेवा सङ्घको योजना छ।