आरपी शर्मालाई किशोर उपाध्ययको चुनौती- ‘उनले गोर्खाका लागि केही गरेका छन् भने देखाउन्’

1
2070
भाजपा असम सचिव किशोर उपाध्यय (फाइल फोटो)।

खरसाङ, 19 अक्टोबर : तेजपुरका पूर्व भाजपा सांसद आरपी शर्माले शुक्रवार सिलगढ़ीमा राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-लाई लिएर दिएको बयानप्रति असम भाजपाका सचिव किशोर उपाध्ययले तीखो शब्दमा आपत्ति जनाएका छन्।

शनिवार जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै शर्माले एनआरसीबारे भ्रामक कुरा गरिरहेको उपाध्ययले दाबी गरेका छन्।

“यस पालिको लोकसभा चुनाउमा टिकट नपाएपछि भाजपालाई नराम्रो देखिरहेका आरपी शर्माले सांसद छँदा सन् 2014 देखि 2019 सम्म असमेली गोर्खाहरूका लागि के कति गरे, त्यो उनले देखाउन्”,   भाजपा सचिवले थपे, “उनले आफ्नो 5 वर्षे सांसदकालमा आफ्नो व्यक्तिगत स्वार्थपूर्ति गर्नबाहेक जातिका लागि केही गरेनन्। 5 वर्ष सांसद भएर आरपी शर्माले जातिका लागि केही गर्नका सट्टा उल्टै जातिलाई 25 वर्ष पछिल्तिर धकेल्ने काम गरेका छन्।”

उपाध्ययका अनुसार सांसद भइञ्जेल गोर्खा र एनआरसीबारे एकै शब्द पनि चुइँ नबोल्ने पूर्व सांसद शर्माले अहिले भूल तथ्य अघि राख्दै करिब 2 लाख गोर्खा एनआरसीबाट छुटेका छन् भन्नु र यसका लागि भाजपालाई दोष्याउनुमा राजनीतिक स्वार्थ र रिसबाहेक अर्थोक केही छैन।

“उनले एनआरसीमा भाजपालाई दोष्याउनु भनेको ममता ब्यानर्जीको नजिक हुनखोज्नु मात्र हो। यदि उनी साँच्चै जातिप्रति इमानदार छन् भने 30 जुलाई 2018 -मा एनआरसीको दोस्रो  खेस्रा प्रकाशित हुँदा किन एकै शब्द पनि बोलेनन्”, असम भाजपाका सचिवले थपे, “त्यसबेला उनी सांसद थिए। एनआरसीको पहिला खेस्रामै एक लाखभन्दा बढ़ी गोर्खा एनआरसीबाट छुट्दा किन एकैपटक पनि संसदमा कुरा उठाएनन्। किन भाजपाको विरोधमा चुइँसम्म बोल्न सकेनन् त? अहिले भाजपाबाट टिकट नपाएपछि भाजपालाई दोष्याउँदै बयान दिनु भनेको उनले आफ्नै राजनीतिक स्तर प्रदर्शित गर्नु हो।”

उनका अनुसार एनआरसी पूर्ण रूपले सर्वोच्च न्यायालयको देखरेख र निगरानीमा भएको कारण सरकारले केही गर्ने सकेनन्।

“13 जुलाई 2017-मा नै सर्वोच्च न्यायालयले एनआरसी प्रक्रियामा सरकार र अन्य कुनै सङ्गठनले हस्तक्षेप गर्न नसक्ने कठोर आदेश दिएको थियो। यसैले एनआरसीलाई लिएर असम सरकारले केही गर्नै पाएन”, भाजपा सचिव किशोर उपाध्ययले थपे, “यदि भोलिको दिनमा एनआरसीलाई लिएर सरकारले केही गर्न पाएको खण्डमा पनि केही गरेन भने चाहिँ दोष्याउन सकिन्छ। तर, अहिले केही गर्नै नपाई दोष्याउनु भनेको पूर्वाग्रह राख्नु र रिस व्यक्त गर्नु मात्र हो।”

यसका साथै उनले  एनआरसीमा करिब दुई लाख गोर्खा छुटेको शर्माको दाबीलाई पनि खारेज गरेका छन्।

“करिब दुई लाख होइन, 60-70 हजार गोर्खाको नाम एनआरसीमा परेको छैन। तर, प्रायः सबैको नाम एनआरसीमा अवश्यै पर्नेछ”, उनले दाबी गरे।

अर्कोतिर उनले शर्माकै कारण गोर्खाको नाम एनआरसीबाट छुटेको आरोप लगाएका छन्। “उनी वरिष्ठ वकिल पनि हुन्। एनआरसी प्रक्रिया शुरु हुँदा असमका चियाकमानमा बसोबास गर्ने मानिसहरूले आफूहरूलाई ‘मूल निवासी’ घोषणा गरी एनआरसी प्रक्रियाबाट बाहिर राख्नुपर्ने मागमा सर्वोच्च न्यायालयमा याचिका दर्ता गरे”, उपाध्ययले थपे, “त्यतिबेलै गोर्खाहरूले पनि सर्वोच्च न्यायालयमा मूलनिवासी घोषणा गरिनुपर्ने याचिका दर्ता गरेको भए आज एनआरसीबाट गोर्खाहरू छुट्ने थिएनन्। सर्वोच्चमा याचिका दर्ता गर्न नदिने आरपी शर्मा नै थिए। यदि उनले आफ्नो पाँच वर्षमा एनआरसीमा गोर्खाहरूलाई सामेल गर्न र अन्य विकासका मुद्दाहरू सम्बन्धमा केही काम गरेका छन् भने श्वेत-पत्र जारी गरी देखाउन्।”

उपाध्ययका अनुसार आरपी शर्मा अहिले अप्रासङ्गिक व्यक्ति हुन्। उनले असमेली गोर्खा र भारतभरि छरिएका गोर्खाहरूका लागि एउटै राम्रो काम पनि गरेका छैनन्।

“सांसद हुँदा उनी मुख्यमन्त्रीका सबैभन्दा नजिकका व्यक्ति थिए। तर, खै के गरे”, उनले थपे, “न असमका गोर्खाहरूका लागि गरे, न त गोर्खाल्याण्डको मुद्दालाई एकैपटक संसदमा उठाए।” उपाध्ययले थपे, “2017-मा दार्जीलिङ पहाड़मा गोर्खाल्याण्डको आन्दोलन चरममा पुगेको बेला मौन बस्ने उनले अहिले गोर्खाल्याण्डबारे बोल्नु पनि हास्यास्पद कुरा हो। के उनले त्यसबेला गोर्खाल्याण्ड राज्य र दार्जीलिङको आन्दोलनबारे एकैपटक संसदमा आवाज उठाए? आन्दोलन गरिरहेका दार्जीलिङवासी नैतिक समर्थन दिन दार्जीलिङ एकैपटक पनि गए त?”

यसैगरी असम भाजपाका सचिव किशोर उपाध्ययले आरपी शर्माले सांसद राजु विष्टमाथि प्रश्न गर्ने कुनै ठाउँ नरहेको पनि बताएका। उनका अनुसार 5 वर्ष सांसद भएर पनि जातिका लागि केही गर्न नसक्ने आरपी शर्माले राजु विष्टमाथि प्रश्न उठाउनु युक्ति सङ्गत छैन।

“युवा राजु विष्ट सांसद भएको 6-7 महिना हुँदैछ। यो समयावधिभित्रै उनी गुवाहाटी आएर एनआरसीबारे गुनासो र समस्या सुने। हामीसँग छलफल गरे। यो ठूलो कुरा हो। उनले जातिका लागि धेरै कार्य गर्ने पहल गरिरहेका छन्। तर, उनीमाथि प्रश्न उठाउने आर शर्माले चाहिँ 5 वर्षमा एनआरसीबारे केही गरेकै छैनन्”, भाजपा नेता उपाध्ययले भने।

1 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here