भूटानमा धार्मिक स्थलको अनादर गर्ने भारतीय पर्यटक पक्राउ

0
1294
छोर्टेनमा चढ़ेर बसेका भारतीय पर्यटक।

सिलगढ़ी, २० अक्टोबर : धार्मिक स्थलको अनादर गरेको गरेको कारण भूटानमा एक भारतीय पर्यटक पक्रा परेका छन्। धार्मिक आस्थालाई कुल्चिने ती भारतीय पर्यटकलाई भूटान शाही पुलिसले पक्रा गरेको हो।

पक्रा पर्ने पर्यटकको नाम अभिजीत रतन हजारे हो। उनी महाराष्ट्रनिवासी हुन्।  भूटान घुम्न गएका उनी त्यहाँको एक ग्रामीण स्थानमा रहेको ‘छोर्टेन’ (स्तुप)-को छानामा चढ़ेर फोटो खिचेका थिए। हजारे छोर्टेनको छानामा चढ़ेको फोटो सोशल मिडियामा भाइरल भएको थियो।

जानकारीका अनुसार अभिजीत रतन हजारे आफ्ना साथीहरूसँग बाइक राइडिङमार्फत् भूटान घुम्न गएका थिए। यो घटना थिम्पु र पुनखाको बीचमा पर्ने दाचुलाको हो। जतिबेला हजारे छोर्टेनमा चढ़े, त्यतिबेला भूटानी टीम लिडरहरू अन्य बाइकहरूलाई पार्किङ गर्न गएका थिए।

यो तस्वीर सोशल मिडियामा भाइरल भएपछि शाही भूटान पुलिसले अभिजीतलाई पक्राउ गरी केरकार शुरु गरेको छ। अर्कोतिर भूटान र भारतका पर्यटन हितधारकहरूले धार्मिक आस्थामाथि अनादर गर्ने कुल्चिने यस्तो निन्दनीय कार्यको कड़ा शब्दमा भर्त्सना गरेका छन्। साथै पर्यटकहरूलाई त्यहाँ धार्मिक स्थल र आस्थालाई सम्मान गर्ने अपील गरेका छन्।

भूटान ‘ल्याण्ड अव् द थण्डर ड्रागन’-नामको फेसबुक समूहका अनुसार सन् २००३ मा भएको लड़ाइँमा मारिएका १०८ सैनिकको स्मृतिमा १०८ स्तुप (छोर्टेन) निर्माण गरिएको हो, जसमध्ये एउटामा अभिजीत चढ़ेर फोटो खिचेका थिए। जानकारीका अनुसार रोयल भूटान सेनाद्वारा पहिलोपटक  सञ्चालित ‘अपरेशन अल क्लिअर’-अवधि १०८ सैनिक मारिएका हुन्।

भूटानी पर्यटन हितधारकहरूको वीच्याट समूहमा पनि यो घटनाको तीखो शब्दमा भर्त्सना गरिएको छ। समूहमा भनिएको छ, ‘ध्यान दिनुहोस्, तपाईं अर्कै देशमा हुनुहुन्छ। यसैले आफ्नो देशको एक असल राजदूत बन्नुहोस्। तपाईंले भ्रमण गरिरहनु भएको देशको धार्मिक आस्था र भावनालाई सम्मान गर्नुहोस्।’

उक्त विच्याट समूहमा थप भनिएको छ, तपाईं जुन स्तुपमा चढ़ेर उभिनु भएको छ, त्यसलाई छोर्टेन भनिन्छ। यो एक पवित्र मन्दिर हो। श्रद्धालुहरू यसको वरिपरि परिक्रमा गरेर प्रार्थना गर्छन्। तपाईंलाई भूटानमा स्वागत छ, तर सावधान बन्नुहोस्। अर्कोतिर हिलालयन हस्पिट्यालिटी एवं टुरिज्म डेवपलमेन्ट नेटवर्क (एचएचडीडीएन) सिलगढ़ीका संयोजक गोस्वामीले पनि यो घटनाको निन्दा गरेका छन्। उनले पर्यटकहरूलाई केही गर्नअघि त्यसबारे जानकारी राख्नुपर्ने बताएका छन्। ‘मनोरञ्जनका लागि धार्मिक भावनामा चोट पुऱ्याउने कार्य गर्नु अत्यन्त निन्दनीय कुरा हो’, गोस्वामीले भनेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here