दार्जीलिङ, 20 अक्टोबर : आइतवार गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) दोस्रो खेमाका अध्यक्ष विनय तामाङ दार्जीलिङ फर्किए।
पहाड़का चियाश्रमिकहरूलाई 20 प्रतिशतको दरले बोनस दिनुपर्छ भन्ने माग लिएर 122 घण्टा अनशन बसेपछि उपचारका लागि सिलगढ़ी पुर्याइएका विनय तामाङले केही दिनअघि नै अस्पतालबाट छुट्टी पाएका थिए, तर डाक्टरको सुझाउअनुसार नै उनी सिलगढ़ीनजिक पिन्टेल भिलेजमा बसेका थिए, जहाँबाट आज उनी दार्जीलिङ फर्किएका छन्।
यसैबीच, उनी दार्जीलिङ आउनसाथ अबदेखि गोर्खा जनमुक्ति मोर्चा र (दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-ले दार्जीलिङ टी एसोसिएशन (डीटीए) र इण्डियन टी एसोसिए़शन (आईटीए)-लाई कुनै मान्यता नदिने पनि बताए।
‘यसपालि चियाश्रमिकहरूको बोनस लिएर मुख्य रूपमा झमेला सिर्जना गर्ने डीटीएका मुख्य सल्लाहकार सन्दीप मुखर्जी र आईटीएका सचिव मोहन छेत्री हुन्। यसैले आगामी नोभेम्बर महीनामा रहल 8 प्रतिशतको लागि हुने त्रिपक्षीय बैठकमा पनि सन्दीप मुखर्जी र मोहन छेत्रीको उपस्थिति चाहँदैनौं’, उनले थपे, ‘अबदेखि गोजमुमो र डीटीडीपीएलयूले चियाकमान अनि चियाश्रमिकहरूको समस्या विषयमा सोझै चियाबगान मालिकहरूसित कुरा गर्नेछन्।’
यसका साथै तामाङले आउँदो नोभेम्बर महिनामा हुने बैठकमा आफूलाई निम्तो गरिएको खण्डमा विरोध नगरिदिने श्रमिक सङ्गठनहरूसँग अपील गरेका छन्।
‘म एक राजनीतिक पार्टीका अध्यक्ष हुँ। चियाकमान सम्बन्धमा मेरो काम छैन। तरै पनि यसपालि चियाश्रमिकहरूलाई 20 प्रतिशतको दरले बोनस दिलाउनका लागि मैले 122 घण्टासम्म अनशन गरेको थिएँ, यसैले यसको लागि हुने बैठकमा मलाई पनि निमन्त्रणा गर्नसक्छ’, विनयले थपे, ‘यसैले मलाई उक्त बैठकमा बोलाइए, कुनै पनि श्रमिक सङ्गठनले विरोध नगरेको उचित हुनेछ। किनभने, चियाश्रमिकहरूका अन्य कैयौं मुद्दाबारे पनि कुरा गर्न आवश्यक छ।’
आज 10 दिनपछि तामाङ आफ्नो घर दार्जीलिङ फर्किएका हुन्। गोजमुमो अध्यक्ष तामाङ आज आफ्नो घर फर्किने सूचना पाएपछि उनलाई ल्याउन गोजमुमो दोस्रो खेमाका कैयौं समर्थक पिन्टेल भिलेज पुगेका थिए।
जहाँ उनलाई साथमा लिएर पार्टी समर्थकहरूले एक र्याली पनि निकालेका थिए साथै विनय तामाङ जिन्दावादका नारा लगाएका थिए। विशेषगरी डाक्टरले आमरण अनशनको कारण विनय तामाङको मुटुमा असर परेको बताएका थिए अनि उनलाई उपयुक्त उपचारको सुझाउ दिएका थिए। यसैकारण केही दिन उनले सिलगढ़ीको गर्मीमा नै बिताएका हुन्।
उल्लेखनीय छ, चियाश्रमिकहरूलाई 20 प्रतिशतको दरले बोनस दिनुपर्ने माग लिएर 6 अक्टोबरको अपराह्न 1:15 बजेदेखि विनय तामाङ आमरण अनशन बसेका थिए।
यसैबीच, 11 अक्टोबरको दिन कोलकातामा बसिएको दोस्रो त्रिपक्षीय बैठकमा दुई किश्ती गरी 20 प्रतिशतको दरले बोनस दिन मालिकपक्ष राजी भएपछि 11 अक्टोबरको अपराह्न 4 बजे उनले अनशन समाप्त गरेका थिए।
त्यसपछि उनलाई सोझै दार्जीलिङ जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। तर, दार्जीलिङ जिल्ला अस्पतालले उनलाई असल उपचारको लागि सिलगढ़ी स्थानान्तर गरेपछि उनलाई सिलगढ़ीस्थित न्युटिया नर्सिङ होममा भर्ती गरिएको थियो। उक्त नर्सिङ होमबाट उनलाई केही दिनअघि छुट्टी दिइएको थियो।