तन्वी दासमाथि मुद्दा दर्ता गर्ने मुख्यमन्त्रीले घोषणा गरुन् : विमलपन्थी मोर्चा

0
1329
विमलपन्थी मोर्चा प्रवक्ता बीपी बजगाइँ।

दार्जीलिङ, 21 अक्टोबर : राज्यको शासक दल तृणमूल कङ्ग्रेस समर्थक मानिने नेतृ तन्वी दासले गोर्खा समुदायमाथि दिएको विवादास्पद बयानले अहिलेघरी सोशल मिडियामा भाइरल भएको छ।

यसै बयानको विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चाले तीखो शब्दमा निन्दा गरेको छ। उल्लेखनीय छ,  पछिल्लो 1 अक्टोबरको दिन टीभी 9 भारतवर्ष नामको च्यानलले बङ्गालमा एनआरसी सन्दर्भमा एक डिबेट कार्यक्रम आयोजन गरेको थियो।

उक्त डिबेटमा तृणमूल कङ्ग्रेस समर्थक तन्वी दासले गोर्खा समुदायलाई घुसपैठ (अनुप्रवेशकारी) बताउँदै देशनिकाला गर्नुपर्ने बयान दिएकी थिइन्। ‘गोर्खाहरू अनुप्रवेशकारी हुन्। गोर्खाहरूलाई बाहर निकाल। गोर्खाल्याण्डलाई तपाईंहरू किन समर्थन गर्नुहुन्छ? गोर्खाहरूसँग के प्रमाण छ’ भन्ने बयान दिएकी थिइन्।

यसै बयानको विरोध गर्दै विमलपन्थी गोजमुमोका प्रवक्ता बीपी बजगाइँले भनेका छन्, ‘इतिहासमा बङ्गालमा कहिल्यै नभएको हाम्रो भूभागलाई हामीलाई पत्तै नदिई बङ्गालमा गाभेपछि यो भूमि खोसिने डरले तन्वीहरूले यस्तो प्रश्न राख्नु कुनै आश्चर्यको कुरा होइन। तर, जुन पार्टीलाई तन्वीको नैतिक समर्थन छ, त्यही पार्टीलाई समर्थन गर्ने विनय तामाङ र अनित थापाले यदि उनीहरू गोर्खाप्रति इमानदार छन् भने भोलि यस विषयमा उनीहरूले जनताअघि मुख्यमन्त्री ममता ब्यानर्जीलाई प्रश्न गरेको हुनुपर्छ।’

यसका साथै मुख्यमन्त्रीले तन्वी दासको बयानलाई कि सहमति जनाउनुपर्ने नभए खण्डन गर्नुपर्ने पनि बजगाइँले बताएका छन्।

‘जाति जातिमा घृणा फैल्याउने वक्तव्य दिएकोमा बङ्गाल सरकारले तन्वी दासमाथि मुद्दा लगाउने घोषणा मुख्यमन्त्रीले भोलि जनतासमक्ष गरेको हुनुपर्छ भन्ने माग हामी राख्दछौं’, सोमवार एक विज्ञप्ति जारी गरी उनले भनेका छन्, ‘गोर्खाहरूसँग के प्रमाण छन्? भन्ने तन्वी दासको प्रश्नको जवाब केवल गोर्खाल्याण्ड राज्यको गठनले मात्र दिनसक्छ। यसैले गोर्खाहरू अब ससानो सहुलियत थाप्न होइन, गोर्खाल्याण्डका लागि प्रतिबद्ध हुनुपर्छ।’

यसैगरी विमलपन्थी मोर्चा प्रवक्ता बजगाइँले के विनय-अनित अनि उनको टीम तन्वी दासको आरोपसँग सहमत छन्? भन्ने प्रश्न पनि गरेका छन्। ‘छैनन् भने जातिप्रति तपाईंहरूको उत्तरदायित्व के हो?’, उनले प्रश्न गरेका छन्।

अर्कोतिर, उनले तन्वी दासको यो मुद्दा पहाड़मा आगो लगाउने उद्देश्य हुनसक्ने आशङ्का ध्यानमा राखेर पहाड़ यसबारे उत्तेजित नभई केवल यसलाई राज्यको गोर्खाप्रतिको दृष्टिकोण बुझ्ने साधनको रूपमा लिनुपर्ने अनुरोध गरेका छन्।

उल्लेखनीय छ, पछिल्लो 1 अक्टोबरको उक्त डिबेट अचानक आइतवार सोशल मिडियामा चुहेपछि उक्त बयानको चौतर्फी भर्त्सना भइरहेको छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here