कालेबुङ, २२ अक्टोबर : भारतीय गोर्खाहरूलाई अनुप्रवेशकारी बताउने तृणमूल कङ्ग्रेस समर्थक तन्वी दासको विरोध गर्दै मङ्गलवार विनयपन्थी गोर्खा जनमुक्ति मोर्चाले कालेबुङमा पुतला जलायो।
यसअवधि विनयपन्थी मोर्चा समर्थकहरूले गोर्खाविरोधी बयानलाई फिर्ता लिँदै माफी माग्नुपर्ने माग पनि गरे। साथै उनीहरूले तन्वी मुर्दावाद नारासमेत लगाए।
तन्वीको बयानको विरोधमा पुतला जलाउन सड़कमा ओर्लेका विनयपन्थी मोर्चा समर्थकहरूले यद्यपि तन्वी दासको विरोधमा मात्र गरेनन्, तर उनको बयानमा भारतीय जनता पार्टी मूकदर्शक बनेको भन्दै यो दलविरुद्ध पनि मुर्दावादको नारा लगाएका थिए।
अर्कोतिर सोमवार विनयपन्थी गोजमुमो कालेबुङ जिल्ला समितिका प्रवक्ता भुवन पी. खनालले पनि एक बयान जारी गरी तन्वी दासले गोर्खाहरू सम्बन्धमा दिएको बयानको तीखो शब्दमा भर्त्सना गरेका थिए। उनले तन्वी दासले आफ्नो बयान फिर्ता लिँदै यो बयानका लागि गोर्खाहरूसँग माफी माग्नुपर्ने माग गरेका थिए।