पुलिसको भूमिकामाथि प्रश्न, विष्टले भने- मलाई मार्ने प्रयास भयो

0
1133

कालेबुङ, २२ अक्टोबर : विनयपन्थी मोर्चा समर्थकहरूले आफूमाथि प्राणघातक हमला गरेको आरोप सांसद राजु विष्टले लगाएका छन्। सिञ्जीको एक कार्यक्रममा सहभागी हुन गइरहेका विष्ट तथा उनका समर्थकहरूलाई सिञ्जीनजिक विनयपन्थी गोजमुमोका कार्यकर्ताहरूले विभिन्न नारासहित बाटो छेकेका थिए। यसपछि दुवै गुटमाझ झड़प पनि भएको थियो।

अर्कोतिर यो घटनापछि प्रतिक्रिया व्यक्त गर्दै विष्टले आफूमाथि भएको हमलालाई खेलाइँची नरहेको बताए। ‘आज मलाई मार्ने प्रयास गरियो। ममाथि ढुङ्गा हानियो। मेरो गाड़ीमा ढुङ्गाले लाग्यो। म अघिल्लो सीटदेखि बीचमा आएर बस्न पऱ्यो। मेरा पीएसओको खुट्टामा ढुङ्गाले हाने। मेरा गार्डको छातीमा ढुङ्गाले लागेको छ। यो त मलाई मार्न खोजेको हो। यो त एउटा अटेम्प्ट टु मर्डर हो’, उनले भने।

यसैगरी विष्टले पुलिसको भूमिकामाथि पनि प्रश्न उठाए। आजको कार्यक्रमबारे हिजो कालेबुङ पुलिसलाई सूचना दिएको र  परिस्थिति नियन्त्रणमा रहेकोले कानून व्यवस्थाबारे कुनै पनि चिन्ता नलिने कुरामा एसपीले आश्वस्त बनाएको पनि विष्टको भनाइ छ।

यद्यपि आज घटनास्थलमा चार पुलिस पठाएकोमा उनले प्रश्न गरेका छन्। ‘जब परिस्थिति यस्तो थियो। हातमा ढुङ्गा लिएर करिब एक सयजना मानिस विरोध गर्न बसिरहेका छन्। यसबारे एसपीले संज्ञान लिएर पर्याप्त फौज पठाउनु पर्ने थियो’, सांसदले थपे, ‘यदि पर्याप्त फौज पठाएको भए आज यस्तो परिस्थिति उत्पन्न हुनेथिएन। हामी जाँदै गर्दा हाम्रो गाड़ी रोकेर उनीहरूले ढुङ्गा हान्न शुरु गरे। झगड़ा शुरु भयो। त्यसपछि म स्वयं एक किलोमिटर पछि आएर बसे। किनभने म त्यहाँ बसिरहँदा अझ झगड़ा हुनसक्छ।’

उनले थप भने,.‘पुलिसलाई यहाँ यस्तो घटना हुन्छ भनेर थाह थियो। थाह हुँदा हुँदै पनि यस्तो घटना हुन दियो। यो गलत हो।’ यसैगरी उनले जीटीए-दुईले पहाड़लाई अशान्त बनाउन खोजिरहेको बताउँदै यसको घोर भर्त्सना पनि गरेका छन्।

यससाथै घटनामा संलग्न दोषीहरूलाई पक्राउ गरी कठोर कारबाही गर्नुपर्ने मागमा थानामा प्राथमिकी दर्ता गर्ने तथा यो घटनालाई पार्लिमेण्ट प्रिभिलेज कमिटीमा पनि राख्ने बताएका छन्।

उनका अनुसार एकजना प्रतिनिधिलाई आफ्नो क्षेत्रमा जान रोक्नु भनेको दार्जीलिङ पहाड़मा लोकतन्त्र नभएको प्रमाण गर्छ।’ अर्कोतिर जनाधार नभएको थाह पाएपछि जनाधार बढ़ाउनका लागि विनयपन्थी गोजमुमोले हिंसक प्रदर्शन गर्न शुरु गरेको पनि सांसद राजु विष्टले बताएका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here