सांसद विष्टमाथि हमला लोकतन्त्रकै लागि खतरा : क्रामाकपा

0
1194
क्रामाकपा प्रवक्ता गोविन छेत्री।

दार्जीलिङ, २२ अक्टोबर :  सिञ्जीनजिक मन्दिर खोलामा मङ्गलवार विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-का कार्यकर्ताहरूले सांसद राजु विष्टमाथि गरेको हमलालाई क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा)-ले तीखो शब्दमा भर्त्सना गरेको छ।

यसबारे बोल्दै क्रामाकपा प्रवक्ता गोविन छेत्रीले भने, ‘एकजना जनप्रतिनिधि आफ्नो संसदीय क्षेत्रको जुनै पनि स्थानमा जान सक्छन्। यसरी एक प्रतिनिधिमाथि हमला गरिनु भनेको लोकतन्त्रको ठूलो उपहास हो। यसले लोकतन्त्र खतरामा रहेको स्पष्ट पार्छ।’

छेत्रीका अनुसार यदि पुलिस-प्रशासनले निष्पक्ष काम गरिरहेको छ भने यो हमलामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्नुपर्छ। ‘जसले संसद हरायो भन्दै मुद्दा बनाउने गर्छन  आज उनीहरूले नै सांसद आफ्नो क्षेत्रमा आउँदा हमला गर्ने घृणित कार्य गर्दैछन्’, उनले थपे, ‘यसो गरिनु दार्जीलिङमा लोकतन्त्र हुनु हो।’

‘यदि एकजना सांसद आफ्नै ठाउँ आउन पाउँदैनन् भने यो क्षेत्रलाई कि वर्जित क्षेत्र भनेर घोषणा गरियोस् नभए आपातकाल लागू गरियोस्।’

अर्कोतिर उनले तन्वी दासले गोर्खाहरूको सम्बन्धमा दिएको बयानको पनि तीव्र रूपमा भर्त्सना जनाउँदै सम्पूर्ण गोर्खा एकजुट भएर यस्तो बयानको विरोध गर्नुपर्ने बताए। ‘यो बयान केवल तन्वी दासको मात्र हो। यो त तृणमूल कङ्ग्रेसको बयान हो’, उनले थपे, ‘जबसम्म छुट्टै राज्य गोर्खाल्याण्ड हुँदैन, तबसम्म हामीमाथि बङ्गालका नेतृत्वहरूले यस्तै बयान दिइरहनेछन्। यसैले छुट्टै राज्यको गठन नै तन्वीहरूलाई उचित जवाफ हुनेछ।’

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here