राजु विष्टविरुद्ध हिल तृणमूलले मुद्दा हाल्ने

2
1339
राज्यसभा सांसद एवं हिल तृणमूल नेतृ शान्ता छेत्री।

प्रशान्त आचार्य

सिलगढ़ी, 23 अक्टोबर : दार्जीलिङका भाजपा सांसद राजु विष्टमाथि हिल तृणमूल कङ्ग्रेसले मानहानिको मुद्दा हाल्ने चेताउनी दिएको छ। सांसद विष्टले लगाएको आरोपलाई केन्द्र गरी हिल तृणमूलले उनीमाथि मानहानिको मुद्दा दर्ता गर्ने भएको हो।

उल्लेखनीय छ, हिजो सिञ्जीनजिक मन्दिर खोलामा उनीमाथि भएको हमलामा हिल तृणमूल कङ्ग्रेसका समर्थकहरू संलग्न रहेको आरोप लगाएको थिए।

विष्टको आरोपमाथि बोल्दै राज्यसभा सांसद एवं तृणमूल कङ्ग्रेस कालेबुङ जिल्ला प्रभारी शान्ता छेत्रीले राजु विष्टले तृणमूल कङ्ग्रेसमाथि झूटो आरोप लगाएर पार्टीको छवि बिगार्ने काम गरेको कारण विष्टमाथि मानहानिको मुद्दा दर्ता गर्ने बताइन्।

“राजु विष्टले हाम्रो पार्टीको नाम प्राथमिकी र प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्। हमलाकारी तृणमूल कङ्ग्रेसका सदस्य हुन् भनेर उनले कसरी भन्न सक्छन्? के उनीसँग कुनै प्रमाण छ?”,  उनले थपिन्, “उनको आरोपले हाम्रो पार्टीको छवि बिगार्ने काम गरेको छ। हामी उनीविरुद्ध कालेबुङ थानामा मुद्दा हाल्नेछौं।’’

यसका साथै उनले विष्टको आरोपलाई आउँदो नोभेम्बर महिनामा सदनमा राख्ने पनि बताइन्। “राजु विष्ट एक प्रतिष्ठित राष्ट्रिय पार्टीका सांसद हुन्। उनले विपक्षी पार्टीमाथि दोष लगाउनअघि धेरै कुरा सोच्न पर्नेछ”, राज्यसभा सांसद एवं हिल तृणमूल नेतृले भनिन्।

अर्कोतिर, हिल तृणमूलका नेता एवं मिरिक नगरपालिका अध्यक्ष एलबी राईले पनि सांसद राजु विष्टले लगाएको आरोपलाई सोझै खारेज गरेका छन्।

“भाइरल भएको भिडियोमा स्पष्ट छ, हमलाकारीहरू निराश युवाहरू हुन्, जो लोकसभा चुनाउअघि राजु विष्टले दिएका वचनहरू पूरा गर्न असफल भएपछि उग्र भएका थिए”, राईले भने।

घटनाअवधि ती हमलाकारीहरूले विनयपन्थी गोजमुमो र तृणमूल कङ्ग्रेसको पक्षमा नारा लगाइरहेको कुरालाई पनि यी तृणमूल नेताले खण्डन गरे।

“सोशल मिडियामा भाइरल भएका भिडियोहरू हेरें, त्यहाँ त्यस्तो कुनै नारा लगाइएको छैन”, राईले थपे, “यो विष्टको झूटो आरोप मात्र हो।”

2 टिप्पणी

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here