सबै विकासकार्य २० जनवरी २०२०-भित्र पूरा गर्ने मुख्यमन्त्रीको निर्देश

0
1017
प्रशासनिक बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री।

खरसाङ, २४ अक्टोबर : दार्जीलिङ पहाड़का निर्माणाधीन सबै अपुरा कार्यलाई आउँदो तीन महिनाभित्र पूरा गरिसक्नु पर्ने कड़ा निर्देश मुख्यमन्त्री ममता ब्यानर्जीले दिएकी छन्।

बुधवार खरसाङको नयाँ बजारस्थित सामुदायिक भवनमा सम्पन्न प्रशासनिक बैठकअवधि मुख्यमन्त्रीले यस्तो निर्देश दिएकी हुन्। उनको निर्देशका अनुसार २० जनवरी २०२० भित्र दार्जीलिङ पहाड़का सबै अपुरा कार्यलाई पूरा गरिसक्नु पर्नेछ। साथै विकास कार्य गरिँदा गुणात्मकलाई पनि त्यतिकै ध्यानमा राख्नुपर्छ।

विकास कार्यको गुणात्मकतासँग कुनै सम्झौता गरिनेछैन। बैठकमा दार्जीलिङ र कालेबुङका प्रशासनिक अधिकारीहरूलगायत जीटीए र नगरपालिकाका प्रतिनिधिहरू पनि उपस्थित थिए।

यसअवधि उनले पहाड़को कानून व्यवस्था र विकास कार्यबारे विस्तृत जानकारी लिइन्। साथै चियाश्रमिकहरूलाई तिहारअघि नै रहल ८ प्रतिशत बोनस वितरणको व्यवस्था गर्नुपर्ने राज्यका श्रम मन्त्री मलय घटकलाई निर्देश दिइएकी छन्। बैठकमा उनले विकासका लागि दार्जीलिङ पहाड़लाई शान्ति र स्थिर राख्नुपर्ने आह्वान गरिन्। पहाड़ शान्त र स्थिर रहे विकास हुने मुख्यमन्त्रीको भनाइ थियो।

यसअवधि उनले परोक्ष रूपमा विमल र राजु विष्टको आलोचना गर्दै बाहिरबाट पहाड़लाई अशान्त बनाउन खोजिरहेको आरोप पनि लगाइन्। साथै यसप्रति पहाड़वासीलाई सर्तक बस्ने सुझाइन्। बैठकअवधि राष्ट्रिय नागरिक पञ्जी (एनआरसी)-को कुरा उठाउँदै बङ्गालमा एनआरसी कदापि लागू नहुने ठोकुवा गरिन्। मङ्गलबार अबेर साँझ सिलगढ़ीबाट खरसाङ आइपुगेकी मुख्यमन्त्री बैठक सकेपछि लगत्तै डाउहिलको निरीक्षणमा गइन्।

प्रशासनिक बैठकमा राज्यका मुख्यसचिव, मन्त्रीद्वय गौतम देव र अरुप विश्वास, राज्यसभा सांसद शान्ता छेत्री, जीटीए अध्यक्ष अनित थापा, गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङ, उत्तर बङ्गाल विकास परिषद्का अध्यक्ष अमरसिंह राईलगायत अन्यको पनि विशेष उपस्थिति रहेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here