विमल गुरुङद्वारा तनवी दास र सिञ्जीकाण्डको भर्त्सना

0
1200
विमल गुरुङ।

दार्जीलिङ, 24 अक्टोबर : केही दिनअघि गोर्खा समुदायलाई अनुप्रवेशकारी  बताउँदै देसनिकाला गर्नुपर्नेजस्ता गैरकानुनी र साम्प्रदायिक बयान दिने तृणमूल समर्थक तनवी दासले आफ्नो बयान फिर्ता लिनका लागि माफी माग्नुपर्ने माग गरेका छन्।

बिहीवार एक भिडियो जारी गरी गुरुङले तनवी दासको बयानप्रति घोर भर्त्सना जनाएका हुन्। तनवी दासको बयान उनको व्यक्तिगत बयान मात्र नरहेर बङ्गाल सरकारकै निर्देशमा यस्तो बयान दिएको हुनसक्ने आशङ्का समेत प्रकट गरेका छन्।

“खाँटी बङ्गालीहरूले कहिल्यै गोर्खाको विरोध गरेका छैनन्। बङ्ग्लादेशबाट काँड़ेतार छिरेर आएकाहरूले मात्र यस्तो बयान दिन्छन्। किनभने उनीहरूले गोर्खालाई पनि आफूजस्तै सोच्छन्”, गुरुङले भिडियोमा भनेका छन्, “हिजोअस्ति जन्मेकाहरूले गोर्खाको इतिहास नपढ़ी कलङ्क लगाउनु ठीक होइन। तनवी दासले माफी मागेको हुनुपर्छ।”

गोर्खाहरूमाथि यस्तै कलङ्क र लाञ्छना घरी घरी लाग्ने गरेकोले दार्जीलिङ पहाड़वासी बङ्गालबाट छुट्टिन चाहेको विमलले बताए। “हामीले गोर्खाल्याण्ड त्यसै मागेका होइनौं। आज हामी घर परिवार र समाजबाट विस्थापित भएर जाति र माटोका लागि लड़ाइँ लड़िरहेका छौं”, मोर्चा पहिलो खेमाका अध्यक्षले थपे, “यो कुरा तनवी दासले बुझेको हुनुपर्छ। र, गोर्खा जातिलाई माफी मागेको हुनुपर्छ।”

अर्कोतिर, गुरुङ सिञ्जीनजिक मन्दिर खोलामा सांसद राजु विष्टमाथि विनयपन्थी गोजमुमोका कार्यकर्ताहरूले गरेको हमलाको पनि तीखो निन्दा गरेका छन्। विनय तामाङ र अनित थापाको निर्देशमा सयौं युवाहरूलाई मदपान राखेर सांसद विष्टमाथि हमला गर्नलगाएको गुरुङको आरोप छ।

“जुन व्यक्तिहरूले हाम्रा सांसद राजु विष्ट र डा. आरबी भुजेलमाथि आक्रमण गरे, ती व्यक्तिहरूले आज तनवी दासको बायनमाथि किन बोल्न सक्दैनन्? तनवी दासको खोइरो खन्न सक्दैनन्”, विमलले थपे भने, “गोर्खाल्याण्डको गोर्खा गर्ने ममता ब्यानर्जीको चाहिँ किन विरोध गर्दैनन्? ती व्यक्तिहरूले उनीहरूको पनि विरोध गर्न पर्नेछ। समय गोलो छ, घुमेर समय आउँछ। त्यतिबेला भाइहरूले मुख देखाइनसक्नु हुनेछ।”

उनले अहिलेघरी विनय-अनितले पढ़ेका शिक्षितवर्गसमेतलाई हिंसाको बाटोमा जबर्जस्ती हिँड़ाइरहेको पनि आरोप लगाए। साथै युवावर्गलाई यस्ता बाटोमा नहिँड़्ने अपील गरे। भिडियोमा उनले 2007 देखि 2017 सम्म आफूहरूको शासनमा दार्जीलिङ पहाड़लाई हत्या हिंसा र तोड़फोड़को राजनीतिदेखि पर राखेको पनि दाबी गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here