षड़यन्त्रको हार र सत्यको जीत भएको छः गोले

0
1440
रेकर्ड जीतपछि अभिनन्दन स्वीकार्दै पीएस गोले।

नाम्ची, 24 अक्टोबरः रेकर्ड  मतले उपचुनाउ जितेसँगै राज्यका निर्वाचित मुख्यमन्त्री बनेका पीएस गोलेले आफ्नो जीतको श्रेय पोकलोक कामराङका जनता, पार्टी पदाधिकारी तथा कार्यकर्ता, सरकारी कर्मचारी र मन्त्रीगण र विधायकहरूलाई दिएका छन्।

जीतपछि पत्रकारहरूलाई सम्बोधन गर्दै उनले एसकेएमले सरकार गठन गरेपछि पछिल्ला चार महिनामा गरेका कार्यहरूलाई हेरेरै पोकलोक कामराङका जनताले यति ठूलो मतान्तरले जीत दिलाएको बताए।

उनका अनुसार एसकेएमले पछिल्लो चार महिनामा जनताको मन जितेर काम गरेकै कारण आज करिब 90 प्रतिशतको मतान्तरले जीत दर्ता गर्न सफल बनेको हो।

अर्कोतिर, उनले एसकेएमले सरकारले परिवर्तन गरे तापनि व्यवस्था परिवर्तन गर्न भने नसकिरहेकोले अब उपचुनाउको यो जीतपछि व्यवस्था परिवर्तनका लागि सरकारलाई साङ्गठनिक रूपमा चलाउने बताए। यसका साथै उनले सिक्किम र सिक्किमेली जनताको हितमा काम गर्नका लागि पक्ष-विपक्ष सबै एक हुनुपर्ने आह्वान गरे।

यसपछि सिङ्गीथाङ  खेल मैदानमा विजय उत्सवलाई सम्बोधन गर्दै उनले चुनाउअघि गरेका सबै चुनावी वाचा आउँदो 5 वर्षमा पूरा गर्ने दाबीलाई दोहोर्‍याए।

“यो मेरो मात्रा वाचा होइन। तर, एसकेएम पार्टी र सिक्किम सरकारको वाचा हो”, उनले थपे, “25 वर्ष एसडीएफले पोकलोक कामराङ निर्वाचन क्षेत्रका जनतालाई ठगेर विकासदेखि धेरै टाढ़ा राखेर यहाँका जनतालाई हेला गर्ने काम गरेको छ। यसैले यहाँका जनतालाई अघि बढ़ाउन र पोकलोक कामराङ निर्वाचन क्षेत्रलाई अन्य निर्वाचन क्षेत्रभन्दा अघि बढ़ाएर लैजानका लागि पाँच वर्ष रातदिन एक गरी म तपाईंहरूको सेवा गर्न चाहन्छु।”

गोलेले यो रेकर्ड जीतका लागि जनता र पार्टीका सबै पदाधिकारी र कार्यकर्तालगायत अन्य सबैप्रति धन्यवाद दिए। साथै जनताले गरेको विश्वासलाई टुट्न नदिने पनि दाबी गरे।

“आज यो जीत मेरो मात्र होइन। यो जीत सम्पूर्ण सिक्किमेली जनताको जीत हो”, गोलेले थपे, “25 वर्षको एसडीएफको शासनकालमा सधैं जनता हारेर नेताले जितेका थिए। तर अब सिक्किममा जनताले जितेर नेता हार्नेछ।”

यसका साथै उनले एसडीएफका उम्मेदवार मोजेस राई र सिक्किम रिपब्लिकन पार्टीका उम्मेदवार यदु कुमार राईलाई पनि शुभकामना दिए। “तपाईंहरू प्रजातान्त्रिक प्रणालीअन्तर्गत् चुनाउमा प्रतिद्वन्द्विता गर्नु भयो। जीत-हार हुन्छ। कुनै खेलमा, कुनै पनि समयमा हार-जीत हुन्छ नै। तपाईंहरू हार्नु भएको छ। यद्यपि म तपाईंहरूलाई धेरै धेरै शुभकामना दिनचाहन्छु।”

यसअवधि उनले पूर्व मुख्यमन्त्री पवन चामलिङको पनि आलोचना गरे। पूर्व मुख्यमन्त्री र एसडीएफ सरकारले षड़यन्त्र गरेर आफूलाई मुख्यमन्त्री हुनै नदिनका लागि एक वर्षको कारावास पठाएको तर उक्त जेल सजाय नै आफ्ना लागि वरदान बनेको बताए।

“यो मुख्यमन्त्रीको चौकी मेरो नभएर तपाईंहरूको हो। यो चौकीमा बसेर म मेरो परिवारको होइन, तर अन्याय-अत्याचारमा परेका सिक्किमेली जनताको सेवा गर्नु चाहन्छु”, मुख्यमन्त्री गोलेले थपे, “षड़यन्त्र भनेको केही दिनका लागि मात्र चल्छ। षड़यन्त्र र झूट जहिल्यै पर्दाफास हुन्छ। र जहिल्यै सत्यको जीत हुन्छ। आज सत्यको जीत भएको छ।”

यो जीतसँगै अब एसकेएम पार्टीसँग 19 विधायक भएको बताए। यसबारे उनले भने, “19 जना विधायक हुनु भनेको बलियो सरकार हो।”

यसैगरी उनले राज्यमा एसकेएम पार्टीको र केन्द्रमा एसकेएमको सहयोगी दल भाजपाको बलियो सरकार रहेकोले सिक्किमेलको सर्वाङ्गीण विकास हुने दाबी गरे। यसै कुरालाई ध्यानमा राखेर उपचुनाउमा एसकेएमले भाजपासँग दुईवटा सीटमा गठबन्धन गरेको पनि खुलाउँदै विपक्षी पार्टीको कुरा नसुन्ने अपील गरे।

अर्कोतिर, उनले एसकेएम सरकारले कुनै जात र धर्मको अवहेलना नगरी सबै जात र धर्मलाई सम्मान गर्ने तथा सिक्किम र सिक्किमेली जनताको विकासका लागि प्रतिबद्धतासँग कार्य गर्ने बताए।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here