शहीद वरुण भुजेलको पूण्यतिथिमा गोर्खाल्याण्ड शपथ दिवस पालन

0
1627
शहीद वरुण भुजेलप्रति बीपी बजगाइँ।

सिलगढ़ी, २५ अक्टोबर : शुक्रवार विमल गुरुङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले छुट्टै राज्य गोर्खाल्याण्डको मागबाट पछि नहट्ने सङ्कल्प गर्दै शपथ लिएको छ। शहीद वरुण भुजेलको पूण्यतिथिमा आज विमलपन्थी मोर्चाले यस्तो सङ्कल्प लिएको हो। उल्लेखनीय छ, २५ अक्टोबरलाई गोजमुमोले सङ्कल्प दिवसको रूपमा मनाउँदै आएको छ। आज विमलपन्थी गोजमुमोले सिलगढ़ी डागापुरस्थित अगमसिंह नगरमा सङ्कल्प दिवस पालन गऱ्यो।

सङ्कल्प दिवसलाई सम्बोधन गर्दै प्रवक्ता बीपी बजगाइँले भने, “हाम्रो माग गोर्खाल्याण्ड हो। हामी कुनै पनि परिस्थितिमा गोर्खाल्याण्डको मागबाट पछि हट्ने छैनौं। यसका लागि आज हामीले शहीद वरुण भुजेलको पूण्यतिथिमा शपथ लिएका छौं।”

शहीद भुजेल गोर्खाल्याण्ड प्राप्तिका लागि प्रतिबद्ध र इमानदार रहेकोले उनको पूण्यतिथिलाई पार्टीले गोर्खाल्याण्ड सङ्कल्प दिवसको रूपमा पालन गर्दै आएको हो। यसअवसरमा पार्टी उपाध्यक्ष विशाल छेत्री, सिलगढ़ी एकाइका अध्यक्ष शङ्कर अधिकारीलगायत केन्द्रिय समिति सदस्य हेमन्त गौतम तथा अन्यले शहीद भुजेलप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

उल्लेखनीय छ, सन् २०१७ –को गोर्खाल्याण्ड आन्दोलनअवधि पक्रा परेका आन्दोलनकारी  भुजेल जेल हिरासतमा सिकित्स बिरामी भएपछि २५ अक्टोबर २०१७ को दिन मृत्यु भएको थियो। शहीद वरुण भुजेल तत्कालीन समयमा कालेबुङ नगरपालिकाको 16 नम्बर वार्डका नगरपार्षद् पनि थिए।

अर्कोतिर, आज कालेबुङमा पनि शहीद भुजेलको पूण्यतिथिमा सङ्कल्प दिवस दिवस पालन गरियो। यसअवसरमा विमलपन्थी मोर्चा कालेबुङका पदाधिकारीहरूसहित अखिल भारतीय गोर्खा लीग (प्रताप गुट)-का महासचिव प्रताप खाती पनि विशेष रूपले उपस्थित थिए।

यसअघि अघि शहीद वरुण भुजेलको दोस्रो पूण्य तिथिमा गोजमुमो पहिलो खेमाका प्रमुख विमल गुरुङले एक प्रेस विज्ञप्ति जारी गरी भनेका थिए, ‘वरुण भुजेल गोर्खा राजनीतिमा एक यस्ता शहीद हुन्, जसले बन्दी अवस्थामा पीड़ा सहेर वीरगतिलाई स्वीकार्दा बङ्गालका तानाशाहीहरू आतिएका थिए। बङ्गाल सरकारले ओड़ेको पर्दा उदाङ्गो भएर क्रुर शासकको अनुहार देखिएको थियो। उहाँको मृत्युले बङ्गालको गणतन्त्रको मुखौटा उतारेको थियो, गोर्खाल्याण्डको आन्दोलन बेच्ने मिरजाफरहरूलाई धिक्कारेको थियो।’

गुरुङले आज उनै शहीद वरुण भुजेलले प्राप्त गरेको वीरगतिको दिनलाई गोजमुमोले गोर्खाल्याण्ड सङ्कल्प दिवसको रूपमा पालन गर्ने पनि बताएका थिए।

‘उनको वीरगतिको कथाले समाजमा साकार गोर्खाल्याण्ड देख्न चाहने थुप्रै जिउँदा वरुण भुजेलहरूलाई सामर्थ्य प्रदान गरोस्। आजको दिनलाई हामीले शपथ दिवस भनेर घोषणा गरेका छौं’, विमलले भनेका छन्, ‘आज हामीले गोर्खाल्याण्डको विरुद्धमा उठेका तमाम शक्तिहरूविरुद्ध तथा बङ्गालको दासत्वबाट हाम्रो भूभागलाई मुक्ति दिने शपथ लिनेछौं। यसअवसरमा उनका परिवारप्रति हामी सबैले परिवार झैं रहेर समवेदना प्रकट गर्दछौं।’ उनले शहीद भुजेलप्रति श्रद्धाञ्जली अर्पण पनि गरेका छन्।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here