सिङ्गुर, 30 अक्टोबर : पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीविरुद्ध सोशल मिडियामा अपमानजनक टिप्पणी गरेको आरोपमा एक 28 वर्षीय युवकलाई पुलिसले पक्राउ गरेको छ। यसबारे बुधवार जानकारी दिएका छन्।
पुलिसका अनुसार तृणमूल युवा कङ्ग्रेसका हुगली जिल्लाध्यक्ष शान्तनु ब्यानर्जीद्वारा दर्ता उजुरीको आधारमा मङ्गलवार राति सिङ्गुरनिवासी चन्दन भट्टाचार्यलाई पुलिसले पक्राउ गरेको हो।
पुलिस अधीक्षक तथागत बसुले भने, ‘सिङ्गुर पुलिस थानामा चन्दन भट्टाचार्यविरुद्ध उजुरी दर्ता भएपछि हामीले उनलाई पक्राउ गरेका हौं। मामिलाबारे जाँच गरिरहेका छौं।’
उजुरीकर्ताका अनुसार हुगली जिल्लाको सिङ्गुरनिवासी चन्दन भट्टाचार्यले काली पूजाको दिन फेसबुकमा मुख्यमन्त्री ममता ब्यानर्जीविरुद्ध ‘अपमानजनक टिप्पणी’ गरेका थिए।
“चन्दन भट्टाचार्यले 28 अक्टोबरको दिन मुख्यमन्त्रीविरुद्ध टिप्पणी गरेका थिए। त्यस दिन पार्टी कार्यकर्ताहरूले चन्दनको घरको टुङ्गो पाएनन्”, शान्तनु ब्यानर्जीले भने, “यद्यपि एक दिनपछि उनी सिङ्गुरनिवासी रहेको हामीले थाह पायौं। त्यसपछि मैले उनीविरुद्ध पुलिसमा उजुरी दर्ता गरे।”
उल्लेखनीय छ, यो महिनाको शुरुमै साइबर अपराध कानूनको कथित् उल्लङ्घनलाई लिएर उत्तर 24 परगना जिल्लाबाट कङ्ग्रेस नेता सन्मय बन्दोपाध्यायलाई पुलिसले पक्राउ गरेको थियो।
सन्मय ममता ब्यानर्जीको खरो आलोचकको रूपमा मानिन्छन्। उनको पक्राउलाई लिएर कङ्ग्रेसले ममता सरकारको तीखो शब्दमा निन्दा गरेको थियो।
लोकसभामा कङ्ग्रेसका नेता अधीर रञ्जन चौधरीले पार्टी प्रवक्ता सन्मय बन्दोपाध्यायले तृणमूल सरकारको आलोचना गरेको पोस्ट सोशल मिडियामा हालेले पुलिसले पक्राउ गरेको आरोप लगाउँदा ममता सरकारले अभिव्यक्तिको स्वतन्त्र खोस्ने काम गरेको बताएका थिए।
यसैगरी पछिल्लो मई महिनामा भाजपा युवा मोर्चाकी नेता प्रियङ्का शर्मालाई पनि ममता ब्यानर्जीको बिगारेको तस्वीरलाई सोशल मिडियामा साझा गरेकोमा हावड़ा जिल्ला पुलिसले पक्राउ गरेको थियो।
उच्चतम न्यायालयले उनलाई जमानत दिएर उक्त पोस्टका लागि मुख्यमन्त्री ममता ब्यानर्जीसँग माफी माग्ने निर्देश दिएको थियो।