शहीद सुवास थापाको सालिक निर्माण गरिने

0
1032
शहीद सुवास थापा।

सिलगढ़ी, १ नोभेम्बर : केही दिनअघि शहीद भएका सुवास थापाको सालिक चाँड़ै निर्माण हुनेछ। यसबारे पहल शुरु भइसकेको छ।

माथिल्लो बाघडुग्रा ग्राम पञ्चायतका प्रधान कञ्चन कुशवाले यसबारे जानकारी गराएकी छन्। उनका अनुसार यसका लागि पहल शुरु भइसकेको छ। साथै सालिक निर्माणका लागि डुवर्स वीरपाड़ानिवासी मूर्तिकार कीपेन्द्र गुरुङलाई अर्डर दिइसकिएको छ।

उल्लेखनीय छ, माथिल्लो बाघडुग्राको पानीघट्टा मोडस्थित सुवास थापा ११ अक्टोबरको दिन पाकिस्तानी सेनाको गोलीबारीमा शहीद भएका थिए। ३/११ गोर्खा राइफल्सका नाइक २५ वर्षीय थापा रजौरी जिल्लाको नौशेरा सेक्टरमा तैनाथ थिए।

त्यसदिन सखारै युद्ध विरामको उल्लङ्घन गर्दै पाक सेनाले गरेको गोलीबारीमा उनी गम्भीर घाइते भएका थिए भने उद्धमपुरको आर्मी अस्पतालमा उपचारको क्रममा थापाले वीरगति प्राप्त गरेका थिए।

पञ्चायत प्रधान कुशवाका अनुसार शहीद थापाको आठ फुट अग्लो सालिक निर्माण गरिनेछ। सालिक राखिने ठाउँलाई छठपूजा अघि नै अन्तिम रूप दिइनेछ।

उनले भनिन्, यसभन्दा अघि हामीले पानीघट्टा मोड़मा आदिकवि भानुभक्त आचार्यको सालिक स्थापना गरिसकेका छौं। अब हामी बाघडुग्रामा वीर गोर्खा शहीद सुवास थापाको सालिक स्थापना गर्नेछौं।

उनका अनुसार यसै नोभेम्बर महिनाको अन्त्यसम्म शहीद थापाको सालिक स्थापना गरिसकिनेछ। यसका साथै महात्मा गान्धीको सालिक पनि स्थानीय लेख नगरमा स्थापना गरिने उनको भनाइ छ।

शहीद छोरोको सालिक आफ्नै जन्मस्थानमा स्थापना गरिने भएकोले पिता टेकबहादुर थापाले गर्व महसुस गरेका छन्।

छोरो गुमाउनुको पीड़ामा हामी छौं। तर छोरोको सालिक आफ्नै जन्मस्थानमा निर्माण गरिने कुरामा हामीले गर्व महसुस गरिरहेका छौं’, उनले थपे, उनले राष्ट्रका लागि गरेको प्राणको बलिदानको कारण नै सालिक निर्माण भइरहेको छ। मलाई मेरो बहादुर छोरोप्रति अत्यधिक गर्व छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here