दार्जीलिङ, २ नोभेम्बर : दार्जीलिङका सांसद राजु विष्टले शनिवार लोकसभा अध्यक्ष ओम बिड़लासँग भेट गरी पछिल्लो २२ अक्टोबरको दिन कालेबुङको सिञ्जीमा आफूमाथि भएको हमलाबारे जानकारी गराए।
लोकसभा अध्यक्षसँगको भेटवार्तामा विष्टले आफूमाथि हुने सम्भावित हमलाबारे पश्चिम बङ्गालका गृहसचिव, बङ्गालका पुलिस महानिर्देशक र कालेबुङका पुलिस अघीक्षकलाई अघिल्लो दिन नै सूचित गर्दा पनि पर्याप्त सुरक्षा व्यवस्था प्रदान नगरिएको तथा हमलापछिका भिडियोहरू पुलिस अधिकारीहरूलाई प्रमाणको रूपमा दिइँदा पनि आजका दिनसम्म पनि उक्त हमलामा संलग्न व्यक्तिहरूविरुद्ध कुनै प्रकारको ठोस कदम नउठाएको अवगत गराए।
यसअवसरमा उनले पुलिस अधिकारीहरूसँग हमलाकाण्डका सबै भिडियो उपलब्ध रहे तापनि हमलाका मुख्य आरोपीहरू खुल्ला रूपमा हिँड़िरहेको तथा उनीहरूविरुद्ध प्रशासनले कुनै प्रकारको कारबाही नगरेको पनि जानकारी गराए।
लोकसभा अध्यक्ष ओम बिड़लाले आफूले उक्त हमलाकाण्डबारे संज्ञान लिएको तथा आफू पश्चिम बङ्गाल प्रशासनका शीर्ष अधिकारीहरूलाई सबै आरोपीविरुद्ध समयमा नै कड़ा कारबाही गर्नुपर्ने माग गरिएको पनि भेटवार्तामा उनलाई जानकारी गराएको विष्टले थप बताएका छन्।
उल्लेखनीय छ, सिञ्जीस्थित भक्तिमाया प्राथमिक पाठशालाको स्वर्ण जयन्ती कार्यक्रममा भाग लिन गरइरहेका सांसद राजु विष्टको लश्करमाथि सिञ्जी पुग्न केहीअघि मन्दिर खोलामा हमला भएको थियो।
यो हमलामा विनयपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-को हात रहेको भन्दै विष्टले त्यसैदिन विनयपन्थी मोर्चा कालेबुङ जिल्ला कमिटीका शीर्ष नेतृत्वहरूसँगै ९०-१०० अन्यविरुद्ध कालेबुङ थानामा प्राथमिकी दर्ता गरेका थिए। स्मरणरहोस्, प्राथमिकीमा नाम रहेकामध्ये ६ जना क्रमैले विनय घिसिङ, अमिर बस्नेत, गायत्री मुखिया, डेनिस राई, डानियल लेप्चा र विनोद राईले पछिल्लो २६ अक्टोबरको दिन कालेबुङ अदालतमा आत्मसमर्पण गरेपछि बेल पाएका थिए।