एचएमआईद्वारा ६५औं स्थापना दिवस पालन, वृत्तचित्र र सालिक अनावरण

0
1000
वृत्तचित्र मेकिङ माउण्टेनर्स-को रिलिज गरिँदै।

दार्जीलिङ, ४ नोभेम्बरः दार्जीलिङको हिमालयन पर्वतारोहण संस्थान (एचएमआई)-ले अर्को वर्ष सिक्किमको चौरीखाङ बेस क्याम्पबाट पर्वतारोहणको आयोजन गर्ने बताइएको छ।

संस्थानले स्थापनाको गौरवमय ६५औं वर्ष पूरा गरेको विशेष अवसरमा अर्को वर्ष चौरीखाङ बेस क्याम्पबाट पर्वतारोहणको आयोजन गर्ने योजना तयार पारेको हो। सोमवार  एचएमआई परिसरले विविध कार्यक्रम आयोजन गरी ६५औं स्थापना दिवस पालन गरेको थियो।

यसैअवसरमा चौरीखाङ बेस क्याम्पबाट पर्वतारोहण आयोजनको घोषणा गरिएको हो। आज पालन गरिएको स्थापना दिवसकै अवसरमा संस्थानको पहिलो वृत्तचित्र ‘मेकिङ माउण्टेनर्स’ रिलिज गर्नका साथै एचएमआईका संस्थापक प्राचार्य मेजर नरेन्द्र धर जयालको सालिकको पनि अनावरण पनि गरिएको थियो।

अर्कोतिर, संस्थानले अर्कोवर्षका लागि बनाएको योजना ‘चौरीखाङ बेस क्याम्पबाट पर्वतारोहण’-बारे संस्थानका प्राचार्य जय किशनले जानकारी गराए। चौरीखाङ बेस क्याम्प १४,६०० फुट उँचाइमा रहेको छ। उनका अनुसार  यसअन्तर्गत एउटै बेस क्याम्पबाट पर्वतारोहीहरूले तीनवटा शिखर आरोहण गर्ने योजना रहेको छ।

संस्थानको स्थापनाको साङ्गोपाङ्गोप्रायः जानकारी गराएका उनले यो योजनामा पर्वतारोहणका लागि प्रशिक्षण लिइरहेका प्रशिक्षार्थीहरूलगायत पहिलाबाटै पर्वतारोहण गरिसकेका पर्वतारोहीहरूका लागि खुला राखिनेछ।

यसो गर्नुको उद्देश्य यसका लागि धेरैभन्दा धेरै पर्वतारोहीहरूलाई सहभागी बनाउनु रहेको पनि प्राचार्य किशनले बताए।

“पश्चिम सिक्किमको १४,६०० फुट उँचाइमा रहेको चौरीखाङस्थित बेस क्याम्पबाट करिब ३ वटा शिखर आरोहण गर्ने योजना दार्जीलिङ हिमालयन पर्वतारोहण संस्थानले बनाएको छ”, उनले थपे, “२० दिनदेखि १ महीनाको अवधिभित्र तीनवटै शिखरको आरोहण गर्न सकिनेछ।”

एचएमआईका प्राचार्यका अनुसार  यस प्रकारको पर्वतारोहणमा समय र खर्च दुवै कम्ती लाग्नेछ। किनभने एउटा पर्वतारोहणका लागि लाखौं रुपियाँसम्मको खर्च लाग्नेछ।

किशनका अनुसार एचएमआईको मुख्य गतिविधि पर्वतारोहण कोर्स, पर्वतारोहीहरूलाई प्रोत्साहनसँग सँगै पर्वतारोहणको आयोजन गर्नु पनि हो।

यसका साथै संस्थानले ग्लोबल वार्मिङ र पर्यावरणबारे पनि मानिसहरूलाई सचेत बनाउने कार्य गरिरहेको उनले जनाए।

यसैबीच, संस्थानका प्राचार्य जयकिशनले यो संस्थानको स्थापनापछि देश-विदेशका युवाहरूले जोखिमपूर्ण खेल वा पर्वतारोहणमा उत्साह देखाइरहेको पनि बताए।

अर्कोतिर उनले जानकारी गराएअनुसार आज रिलिज गरिएको वृत्तचित्र दुई घण्टा २० मिनटको छ। यद्यपि पछि आवश्यकताअनुसार यो वृत्तचित्रलाई सम्पादन गरिने पनि प्राचार्य किशनको भनाइ छ।

स्मरणररहोस्, दार्जीलिङ हिमालयन पर्वतारोहण संस्थानले बर्सेनि आफ्नो स्थापना दिवसको अवसर पारेर नयाँ-नयाँ पर्वतारोहणको योजना बनाएर यसलाई कार्यरूपमा पनि परिणत गर्दै आइरहेको छ।

यसै क्रममा पछिल्लो वर्ष एचएमआईले आफ्नो ६४औं स्थापना दिवसको अवसरमा अल्पाइन स्टाइलको पर्वतारोहण नाममा एक पर्वतारोहण कार्यक्रमको आयोजन गरेको थियो, जसमा पहिलोपटक पर्वतारोहण गर्ने पर्वतारोहीहरूले शेर्पा र भरियाहरूको सहयोगबिनै लद्दाखका दुईवटा हिमशिखर सफलतापूर्वक आरोहण गरेका थिए।

उक्त पर्वतारोहणमा हिमालयन पर्वतारोहण संस्थानका १८ जना पर्वतारोहण प्रशिक्षक सामेल थिए भने एक महिला प्रशिक्षिका निमा लमु लेप्चा पनि सामेल थिइन्। जसले प्रथमतः ६,४०४ मिटर र ६,२४७ मिटर उँचाइका दुईवटा क्रमैले माउण्ट काङ्ग यात्से १ र २ -को आरोहण गरेका थिए।

लद्दाखको माउण्ट काङ्ग यात्से १ र २-को यस आरोहणलाई हिमालयन पर्वतारोहण संस्थानले २९ दिनमा पूरा गरेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here