रङ्ली-रङ्लियट चियाकमानको स्थायी समाधान निस्केन, चिया बेचेर श्रमिकहरूलाई वेतन दिइने

0
962
बैठकबारे पत्रकारहरूलाई सम्बोधन गर्दै डीके गुरुङ र अन्य।

दार्जीलिङ, 6 नोभेम्बरः रङ्ली रङ्लियट  चियाकमानमा देखिएको गतिरोध साम्य हुने छनक देखिएको छ।

बुधवार दार्जीलिङस्थित सह-श्रमायुक्त कार्यालयमा बसिएको त्रिपक्षीय  बैठकमा रङ्ली रङ्लियटका मालिकले चिया गोदाममा रहेको चिया बेचेर श्रमिकहरूको वेतन भुक्तान गर्ने बताएपछि यस चियाकमानमा देखिएको गतिरोध साम्य हुने सम्भावना देखिएको हो।

यद्यपि पहाड़का श्रमिक सङ्गठनहरूले चिया गोदाममा रहेको चियालाई बेच्नका लागि प्रबन्धकपक्षलाई मात्र एकलै नपठाउने निर्णय राखेको छ।

उल्लेखनीय छ, रङ्ली रङ्लियट चियाकमानको समस्यालाई लिएर आज सह श्रमायुक्तको कार्यालयमा एक बैठक आयोजन गरिएको थियो, जसमा यस चियाकमानमा प्रबन्धकहरू पनि उपस्थित रहेको बताइएको छ। यसभन्दा अघि भएका दुईवटा बैठकमा भने प्रबन्धकपक्ष उपस्थित भएको थिएन।

गोरामुमोको श्रमिक सङ्गठन हिमालयन प्लाण्टेशन वर्कर्स युनियन (एचपीडब्ल्यूयू) र गोजमुमोको श्रमिक सङ्गठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेबर युनियन (डीटीडीपीएलयू)-ले बेग्लै बेग्लै बयानमा बताएअनुसार आजको बैठकमा श्रमिक सङ्गठनहरूले रङ्ली रङ्लियट चियाकमानका महाप्रबन्धक र सहाप्रबन्धकहरूलाई कमान खोल्ने तथा श्रमिकहरूले पाउनुपर्ने वेतन र बोनस दिइनुपर्ने माग गरेका थिए।

यस्तो मागपछि चिया गोदाममा रहेको चियालाई बेचेर श्रमिकहरूको वेतन दिने  बैठकमा उपस्थित प्रबन्धकद्वयले वचनबद्धता जाहेर गरेका  हुन्। एचपीडब्ल्यूयूका कार्यकारी अध्यक्ष डीके गुरुङका अनुसार रङ्ली रङ्लियटका श्रमिकहरूले कमानका मालिकवर्गसँग विश्वास नै गर्दैनन्। किनभने  उनीहरूले विश्वास गर्ने मालिकवर्गले ठाउँ नै राखेका छैनन्।

अर्कोतिर, गुरुङले थप बताएअनुसार आज प्रबन्धकहरू कमान जान असमर्थता जताएपछि भोलि कमान आउने श्रमिक सङ्गठनहरूले समय दिएका छन्। उनका अनुसार बैठकमा  प्रबन्धकद्वयले जानकारी गराएअनुसार चिया गोदाममा कुल 26 हजार केजी चिया छ। जसमध्ये 12 हजार केजी प्याकिङ गरिएको छ भने 14 हजार केजी प्याकिङ गरिएको छैन। यसै चियालाई बेचेर  श्रमिकहरूले पाउनुपर्ने वेतन भुक्तान गर्ने ती प्रबन्धकद्वयले आश्वासन दिएका दिएका छन्।

यद्यपि चिया बेच्नका लागि प्रबन्धकहरू मात्र जान नपाउनु, चिया बिक्री गर्न कमानका स्टाफहरू र श्रमिक सङ्गठनका प्रतिनिधिहरूलाई लिएर लिएर जानुपर्ने तथा चिया बिक्री गरिएको पैसा सोझै श्रमिकहरूलाई वितरण गरिनुपर्ने आज माग गरिएको पनि एचपीडब्ल्यूयूका कार्यकारी अध्यक्षले बताएका छन्।

“यो स्थायी समाधान होइन। अब मार्च-अप्रेलसम्म सुक्खा मौसममा मालिकवर्गले कसरी कमान चलाउनेछ भनेर पनि हामीले बैठकमा सोधेका थियौं। प्रबन्धकद्वयले कमान चलाउनका लागि सक्दो कोशिश गरिएको र अन्य कम्पनीहरूसँग पनि कुराकानी भइरहेको बताएका छन्”, गुरुङले बैठकबारे भएको छलफलबारे यसरी बताए।

अर्कोतिर, डीटीडीपीएलयूका महासचिव भरत ठकुरीले भने बैठक फलप्रद नभएको बताए। “हामी चाहन्थ्यो, मालिकवर्गले पहिला श्रमिकहरूलाई रहल बेतन र बोनस दिएर मात्र चिया बेच्न लैजाउन्”, उनले भने। यस्तो नभएकोमा ठकुरीले असन्तुष्टि व्यक्त गरेका छन्।

उल्लेखनीय छ, गत दशैंअघि नै यस चियाकमानका प्रबन्धकहरू चियाको नमूना लिएर सिलगढ़ी गएपछि पुनः नफर्केपछि यस चियाकमानको अवस्था नै डाँवाडोल बनिरहेको छ। यसैबीच, आजको बैठकमा यस चियाकमानका श्रमिकहरूको बोनस विषय लिएर पनि चर्चा भएको थियो। यद्यपि, यसमाथि कुनै ठोस निर्णय हुनसकेन।

यसैगरी चियाश्रमिकहरूको दोस्रो किश्तीको रहल 8 प्रतिशतको बोनस भुक्तान विषय लिएर हुने 8 नोभेम्बरको बैठकमा सबै श्रमिक सङ्गठनका प्रतिनिधिहरू कलकत्ता जाने भएको बताएका छन्।

यसरी नै अर्कोतर्फ सिङ्ताम चियाबगानको समस्या विषय लिएर भोलि सह-श्रमायुक्त कार्यालयमा बैठक हुने भएको छ। जुन चियाबगान पनि करिब दुई सातादेखि अचल अवस्थामा छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here