दार्जीलिङमा ६ वाहनमा आगो झोसियो, पुलिसद्वारा जाँच शुरु

0
1575
बुधवार अबेर राति झोसिएको आगोले खरानी भएको बाइक।

दार्जीलिङ, ७ अक्टोबरः बुधवार अबेर राति चाँदमारी क्षेत्रमा अज्ञात असामाजिक तत्त्वहरूले तीनवटा बाइक, दुईवटा स्कुटी र एउटा वेगनआर गरी कुल ६ वटा वाहन जलाइएको घटना प्रकाशमा आएको छ।

यी बाइक, स्कुटी र वेगनआर कार कसले र किन जलाए भन्नेबारे कुनै पत्तो लागेको छैन। यद्यपि यो घटनामा चाँदमारी बाहिरका बदमाश र ड्रग्सखोरहरूको हात नरहेको हुनसक्ने स्थानीयनिवासी मयङ्क शर्माले आशङ्का जताएका छन्। चाँदमारी क्षेत्र शान्तिपूर्ण क्षेत्र रहेकोले यो घटनामा बाहिरका असामाजिक तत्त्वहरूको हात रहेको हुनसक्ने उनको तर्क छ।  उल्लेखनीय छ, उनको बाइक पनि असामाजिक तत्त्वहरूले जलाएका छन्।

शर्माका अनुसार हिजो मध्यराति अचानक आगो लागेको हल्ला फैलिएरपछि घरबाहिर आएर हेर्दा उनले आफ्नो बाइक जलिरहेको देखेका थिए। त्यसबेला अन्य बाइक, स्कुटी र वेगनआर वाहनमा पनि आगो लागिरहेको थियो। यो घटनाले राति क्षेत्रमा सनसनी फैलिएको थियो।

जानकारीका अनुसार हिजो राति करिब १२.३० बजेतिर आगो लगाइएका यी बाइक, स्कुटी अनि गाड़ीहरू बाटो किनारमा नै पार्क गरेर राखिएका थिए। अर्कोतिर, आज बिहान पुलिस घटनास्थलमा पुगेर जाँच शुरु गरेको छ। यद्यपि वाहनहरूमा आगो झोस्ने बदमाशहरूबारे पुलिसले सुइँको पाउनसकेको छैन। यो घटनाले दार्जीलिङका अन्य बाइक, स्कुटी र गाड़ी मालिकहरू पनि चिन्तित बनेका छन्।

यसैबीच, दार्जीलिङ थाना सूत्रका अनुसार यो आगलागीको घटनाबारे पुलिसले छानबिन शुरु गरिसकेको छ। साथै पुलिसले यसको फरेन्सिक जाँच गराउने पनि बताएको छ।

‘हिजो राति स्थानीय मानिसहरूबाट हामीले वाहनहरूमाथि आगलागी भएको खबर पाएका थियौं। हामी त्यहाँ पुगिसक्दा स्थानीय मानिसहरूले आगो निभाइसकेका थिए। हामीले घटनाबारे जाँच शुरु गरेका छौं’, टाउन पुलिस डीएसपी राहुल पाण्डेले भने।

आगलागीको शिकार भएको बाइकमध्ये एउटा मिथलेश प्रसाद तथा मारुती वेगनआर कुन्दनराज छेत्रीको हो। यसलगायत मयङ्क शर्मा र प्रेमराज प्रधानको बाइक र सब्बीर हुसैनको स्कुटीमा पनि आगो झोसिएको कारण भष्म भएको छ।

उल्लेखनीय छ, हाल दार्जीलिङ शहरी क्षेत्रमा धेरै गाड़ी, बाइक, स्कुटी आदि बाटो वा सड़क किनारमा नै पार्क गरेर राख्नेगरिन्छ।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here