दार्जीलिङ, ८ नोभेम्बरः पहाड़का चियाश्रमिकहरूले आउँदो २२ दिसम्बरभित्र रहल ८ प्रतिशत बोनस पाउनेछन्। शुक्रवार कलकत्तामा राज्यका श्रम मन्त्री मलय घटकको उपस्थितिमा सम्पन्न त्रिपक्षीय बैठकमा आउँदो महिनाको २२ तारिखसम्म रहल ८ प्रतिशत बोनस दिइने सम्झौता भएको हो।
आजको बैठकमा विनयपन्थी गोजमुमो, गोरामुमो, क्रामाकपा, जाप, माकपा र तृणमूल कङ्ग्रेसका श्रमिक सङ्गठनहरूका नेताहरूले भाग लिएका थिए। बैठकमा आउँदो २२ दिसम्बरभित्र रहल बोनस दिन मालिकपक्ष राजी बनेको बताइएको छ।
उल्लेखनीय छ, बोनस प्रतिशतबारे कुरा नमिलेपछि दार्जीलिङ पहाड़का चियाश्रमिकहरूले यसपालि दशैंअघि बोनस पाउन सकेका थिएनन्। पछि श्रमिक सङ्गठनहरूको आन्दोलन र गोजमुमो दोस्रो खेमाका अध्यक्ष विनय तामाङको आमरण अनशनपछि पछिल्लो ११ अक्टोबरको दिन कोलकातामा बसिएको त्रिपक्षीय बैठकमा दुई किश्तीमा गरी २० प्रतिशतको दरले बोनस दिन मालिकपक्ष राजी थियो।
बैठकको निर्णयअनुसार पहिलो किश्तीअन्तर्गत १२ प्रतिशतको बोनस तिहारअघि वितरण गरिएको थियो। यसैगरी दोस्रो किश्तीअन्तर्गत रहल ८ प्रतिशत बोनसका लागि भने नोभेम्बर महिनामा पुनः बैठक बसिने उक्त त्रिपक्षीय बैठकमा निर्णय गरिएको थियो, जसको फलस्वरूप आज कलकत्तामा त्रिपक्षीय बैठक डाकिएको हो।
अर्कोतिर क्रामाकपाको श्रमिक सङ्गठनका नेता सुनिल राईले जानकारी गराएअनुसार आजको बैठकमा पहाड़का चियाकमानहरूका स्टाफहरूको वेतन र बढ़ेको पैसाबारे पनि कुरा उठेको थियो। यसका लागि पनि चाँड़ै बैठक बसिने सम्भावना रहेको राईले बताएका छन्।