दार्जीलिङ हिल म्याराथन सम्पन्न, अन्तर्राष्ट्रिय वर्गमा केन्याका धावक विजयी

0
1652

दार्जीलिङ, १० नोभेम्बरः दार्जीलिङको पर्यटन, यहाँको संस्कृति अनि खेललाई प्रोत्साहन दिने उद्देश्य राखेर आइतवार आयोजन गरिएको दार्जीलिङ हिल म्याराथनमा स्थानीय धावकहरूसँगै सयौं देशी अनि विदेशी धावकले पूर्ण उत्साह र जोशसित भाग लिए।

दार्जीलिङको चौरस्ताबाट शुरु भएको यो म्याराथानमा तीन हजारभन्दा अधिक धावकले भाग लिएका थिए। यो म्याराथन विभिन्न वर्गमा आयोजन गरिएको थियो। जसअन्तर्गत २१ किलोमिटरको अन्तर्राष्ट्रिय हाफ म्याराथनमा केन्याका धावक निकोडमस कप्रुगटले जिते।

त्यसैगरी २१ किलोमिटरकै पुरुष वर्गको राष्ट्रिय दौड़मा पुणेनिवासी दुर्गा बुड़ा, महिला वर्गमा अर्पिता साइनी अनि २१ किलोमिटरकै स्थानीय वर्गमा रोहिता हरिजन क्रमैले पहिलो बने।

स्पोर्ट्स डेभलपमेन्ट फाउण्डेशनले दार्जीलिङ पुलिसको सहयोगमा आयोजन गरेको यस दार्जीलिङ हिल म्याराथनको हाफ म्याराथनलाई ५ वटा वर्गमा विभाजन गरिएको थियो, जसमा अन्तर्राष्ट्रिय खुल्ला, राष्ट्रिय महिला-पुरुष, स्थानीय महिला-पुरुष वर्गलगायत १० किलोमिटर  र  ४ किलोमिटरको दुईवटा म्याराथन रहेका थिए।

विशेष गरी दार्जीलिङको पर्यटन, यहाँको संस्कृति र खेललाई प्रोत्साहन दिने उद्देश्य लिएर नै विगत केही वर्षदेखि दार्जीलिङ पुलिसको सक्रियतामा विभिन्न प्रायोजकको आयोजन गरिएको यस म्याराथनमा केन्या, नाइजेरियालगायत अन्य कैयौं देशका धावकहरूले पनि भाग लिएका थिए। जसमा करिब ३ हजार ५०० धावकले पञ्जीकरण गरेको दार्जीलिङ पुलिस अधीक्षक अमरनाथ के-ले जानकारी गराए।

उनले भने, “विगत केही वर्षदेखि नै दार्जीलिङ हिल म्याराथनको आयोजन भइरहेको छ। यसमा भाग लिन प्रत्येक वर्ष नै विदेशका कैयौं धावक आउने गरेका छन्। यस वर्ष पनि केन्या, नाइजेरिया साथै अन्य देशसँगै भारतका पनि विभिन्न राज्यबाट सयौं धावकले यस म्याराथनमा भाग लिएका थिए।”

उनका अनुसार यस प्रतियोगिताका लागि कुल १० लाख रुपियाँ नगद राशि प्रदान गरियो। यसमा विशेष गरी जीटीए र पर्यटन विभागले पनि सहयोग गरेको पुलिस अधीक्षकले बताएका छन्।

आज स्थानीय चौरस्ताबाट शुरु भएको २१ किलोमिटरको म्याराथन गान्धी रोड, आईएनए बाइपास, जोरबङ्लो, डाली, मोटर स्ट्याण्ड, सिंहमारी भएर चौरस्तामा नै टुङ्गिएको थियो।

यसैगरी १० किलोमिटरको दौड़ पनि चौरस्ताबाटै शुरु भएको थियो। जुन दौड़ गान्धी रोड, डीबी गिरी रोड, काकझोड़ा, मोटर स्ट्याण्ड, सिंहमारी भएर चौरस्तामा नै पूर्ण भएको थियो।

जसमध्ये राष्ट्रिय पुरुष वर्गको २१ किलोमिटरको दौड़मा दुर्गा बुड़ा प्रथम, शङ्करमान थापा दोस्रो र अजय छेत्री तेस्रो भए भने महिला वर्गमा अर्पिता साइनी प्रथम, किरणजीत कौर दोस्रो र सिक्किम गान्तोककी चन्द्रकला शर्मा तेस्रो भए।

यसका साथै २१ किलोमिटरको स्थानीय पुरुष वर्गमा रोहित हरिजन प्रथम, नवीन पुर्जा दोस्रो र सूर्यमान सुब्बा तेस्रो भए भने महिला वर्गमा प्रीति राई प्रथम, अञ्जली सुब्बा दोस्रो र सविना राई तेस्रो भए।

यी प्रतियोगीहरूलाई राज्यका पर्यटन मन्त्री गौतम देव, जीटीए अध्यक्ष अनित थापा, उत्तर बङ्गाल विकास विभाग अध्यक्ष अमरसिंह राई, पुलिस अधीक्षक अमरनाथ के-का साथै अन्य अतिथिहरूको बाहुलीबाट पारितोषिक प्रदान गरियो। यसअवसरमा राजीव गान्धी खेल रत्नद्वारा सम्मानित भारतीय ओलम्पियन दीपा कर्माकारको पनि विशेष उपस्थिति रहेको थियो।

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here