सिलगढ़ी, १४ नोभेम्बरः अवैध रूपले भारत-नेपाल सीमा पार गरिरहेका तीन बङ्ग्लादेशी नागरिकसहित एक भारतीय दलाल गरी कुल चारजनालाई सशस्त्र सीमा बल (एसएसबी)-ले पक्राउ गरेको छ।
जानकारीका अनुसार भारत-नेपाल सीमा पानीट्याङ्कीमा एसएसबीको ४१औं बटालियनका जवानहरूले नियमित जाँचअवधि उनीहरूलाई पक्राउ गरेका हुन्।
पक्रा परेका चारैजनालाई एसएसबीले थप अनुसन्धानका लागि खोरीबारी पुलिस थानामा सुम्पिएको बताइएको छ।
एसएसबीका अनुसार तीन बङ्ग्लादेशीमध्ये एकजना अवैध रूपमा भारतबाट नेपाल छिर्ने कोशिश गरिरहेका थिए भने दुई अन्य एक भारतीय दलालको सहयोगमा नेपालबाट भारत प्रवेश गर्ने प्रयासमा थिए।
एसएसबीको ४१औं बटालियन सूत्रका अनुसार पक्रा पर्ने बङ्ग्लादेशी नागरिकहरूको नाम मोहम्मद नजमुल (२४), निवासी मोहम्मद मोबिन मियाँ (३३) र वाशिद अली (३८) रहेका छन्।
मोहम्मद नजमुल बङ्ग्लादेशको मेमेन्सिघ जिल्लानिवासी रहेको बताइएको छ। त्यसैगरी मोहम्मद मोबिन मियाँ र वाशिद अली बङ्ग्लादेशको किसोरघाटनिवासी हुन्।
अर्कोतिर पक्रा परेका भारतीय नागरिकको नाम लिपोन अली (२३) हो। उनी पश्चिम बङ्गालको कोचबिहार जिल्लानिवासी हुन्।
एसएसबीका अनुसार मोहम्मद नजमुल अवैध रूपमा भारतीय भूमि भएर नेपाल छिर्ने प्रयास गरिरहेका थिए भने मोहम्मद मोबिन मियाँ र वाशिद अली भने लिपोन अलीको सहयोगमा नेपाली भूमि भएर भारत प्रवेश गर्ने प्रयास गरिरहेका थिए।
तीनैजना बङ्ग्लादेशीसँग वैध कुनै कागज-पत्र नरहेको पनि एसएसबीले बताएको छ। एसएसबी सूत्रका अनुसार केही वर्षयता भारत-नेपाल सीमा पानीट्याङ्कीको बाटो भएर दुवै देशभित्र बङ्ग्लादेशी नागरिकहरूले अवैध प्रवेश बढ़ेकोले यसलाई रोक्न थप सतर्कता अपनाइएको छ।