विनयपन्थी मोर्चाले केन्द्रलाई मात्र होइन राज्यलाई पनि प्रश्न गरोस् : क्रामाकपा

0
1280
गोविन छेत्री।

दार्जीलिङ, 15 नोभेम्बरः विनय तामाङपन्थी गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)-ले अहिलेघरी दार्जीलिङमा ‘घिनलाग्दो’ र ‘अर्घेलो’ बन्ने राजनीति गरिरहेको क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टी (क्रामाकपा)-ले आरोप लगाएको छ।

क्रामाकपा प्रवक्ता गोविन छेत्रीका अनुसार ‘राज्य सरकारअघि लम्पसार परेर आत्मसमर्पण गर्नु र केन्द्र सरकारप्रति आवश्यकताभन्दा धेर आक्रामक बनेर प्रश्न गरिरहनु नै विनयपन्थी मोर्चाको घृणित र अर्घेलो राजनीतिको उदाहरण हो।

“विनयपन्थी मोर्चाले भाजपाले दिएको वचनबारे उमाथि दबाउ बनाउनु र प्रश्न गर्नु  उचित हो। हामीले पनि यसबारे भाजपामाथि चाप दिने काम गरिरहेका छौं। तर यस्तै चाप राज्य सरकारमाथि पनि दिनसक्नुपर्छ। किनभने राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले चौरस्ताबाट गोर्खाहरूको चिनारी सङ्कटको समस्या समाधान गर्छु भनेकी थिइन्”, छेत्रीले जनसंवादसँग टेलिफोनिक कुराकानी गर्दै भने थपे, “तर यसबारे त विनयपन्थी मोर्चाले आजसम्म कहिले पनि राज्य सरकारअघि प्रश्न गरेको छैन। राज्य सरकारसमक्ष यसको माग र प्रश्न गर्दा पक्रा परिन्छ भन्ने के  उनीहरूलाई डर छ?  होइन भने उनीहरूले राज्यसँग यसबारे कुरा उठाउन्। माग गरुन्। किनभने मुख्यमन्त्रीले यसबारे वचन दिइसकेकी छन्।”

गोर्खाहरूको परिचय सङ्कटको समाधान मात्र होइन तर, चियाश्रमिकहरूलाई 105 दिने बन्दअवधिको वेतन दिने तथा पर्जापट्टाको पनि राज्य सरकार र विनयपन्थी मोर्चाले पछिल्लो लोकसभा र दार्जीलिङ विधानसभाको उपचुनाउमा जनतालाई वचन दिएको बताउँदै क्रामाकपा प्रवक्ताले यी वचनहरू के कुरा पूरा गर्‍यो त भन्ने प्रश्न पनि गरेका छन्।

“यसैले विनयपन्थी मोर्चाले भाजपा र सांसद राजु विष्टलाई मात्र होइन, तर आफ्नै सहयोगी दल तृणमूल र यसकी प्रमुख एवं राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पनि प्रश्न गर्न सक्नुपर्छ”, छेत्रीले भनेका छन्।

उनका अनुसार भाजपाले भनेको दार्जीलिङ स्थायी समाधान र ममताले भनेको चिनारी सङ्कटको समाधान क्रामाकपाको अड़ानमा छुट्टै राज्य गोर्खाल्याण्ड नै हो। गोर्खाल्याण्डको गठनले मात्र यी दुवै समस्याको स्थायी समाधान हुने छेत्रीको भनाइ छ।

“किनभने सुवास घिसिङले थापेको दागोपाप र विमल गुरुङले थापेको जीटीए विफल भइसकेका छन्’’, क्रामाकपा प्रवक्ताले थपे, “छैटौं अनुसूची त जनताले नै खारेज गरिसकेका हुन्। यसैले राज्यभित्रका व्यवस्थाहरूलाई स्थायी राजनीति समाधान भन्न मिल्दैन।”  

उनको दाबीका अनुसार भाजपालाई क्रामाकपाले आफ्नो अड़ानबारे स्पष्ट रूपमा बताइसकेको छ।

“राजनीति नीति सिद्धान्तमा गर्नुपर्छ। बमम्फुसे र घृणित राजनीति गर्नु हुँदैन। यहाँ राज्यलाई एउटै प्रश्न गर्न नसक्नेहरूले खालि केन्द्रको विरोध गरिरहेका छन्”, क्रामाकपा प्रवक्ताले थपे, “वचन त ममता ब्यानर्जीले पनि दिइएकी छन्। मुख्यमन्त्रीले दार्जीलिङमा गोर्खाहरूको चिनारीको समस्या समाधान गर्ने दिएको वाचा के हो, त्यसलाई विधानसभामा पास गरी केन्द्रमा पठाउन्, हाम्रो माग पूरा हुन झन् सजिलो पर्नेछ। यसैले हामीले केन्द्रको दिएको वाचा मात्र सम्झिएर राज्यले दिएको वाचा चाहिँ भुल्नु हुँदैन।”

उनले थप भने, “ममताले भनेको चिनारी सङ्कटको समाधान के हो? त्यो स्पष्ट पार्नु पर्छ। त्यसैरी नै भाजपाले पनि दार्जीलिङको स्थायी राजनीतिक समाधान के हो, त्यसलाई स्पष्टसँग अघि राख्नु पर्छ।

अर्कोतिर, उनले क्रामाकपाले  लगातार सांसद राजु विष्टसँग सम्पर्क गरी भाजपाले आफ्नो सङ्कल्प-पत्रमा उल्लेख गरेका दुवै मुद्दालाई पास गराउन चाप दिइरहेको बताएका छन्।

“आज पनि मैले पार्टीको पक्षबाट सांसद राजु विष्टसँग कुरा गरे। मैले दार्जीलिङ पहाड़को स्थायी राजनीतिक समाधानलगायत अन्य मुद्दाहरूको कुरा उठाएको छु। साथै संसदको शीतकालीन-पत्रमा प्रभावशाली ढङ्गमा उठाइनुपर्ने माग गरेको छु”, भाजपा र सांसदप्रति सफ्ट कर्नर राखेका उनले भने, “भाजपाले आफ्नो चुनावी वाचा यसपालि पूरा गर्ने कुरामा हामी विश्वस्त छौं। सांसदले दार्जीलिङका यी मुद्दाहरू उठाउने वचन पनि दिएका छन्। अहिलेसम्म उनले मुद्दाहरू उठाउँदै पनि आएका छन्।”

कमेन्ट्स लेख्नुस्

Please enter your comment!
Please enter your name here