दार्जीलिङ, 15 नोभेम्बरः दार्जीलिङ पहाड़को मुख्य आकर्षण दार्जीलिङ हिमालयन रेलवेको स्टिम इन्जिन पछिल्ला पाँच दिनदेखि चलेको छैन। जसको फलस्वरूप शुक्रवार पनि स्टिम इन्जिन चल्नसकेन।
वास्तवमा स्टिम इन्जिनका लागि आवश्यक कोइला आपूर्ति गर्ने ठेकादार र ती ठेकादारको अधीनमा कन्ट्र्याक्चुएल बेसिसमा काम गर्ने कोइला श्रमिकहरूबीच सिर्जित समस्याकै स्टिम इन्जिन चल्न नसकिरहेको बताइएको छ।
यसैबीच, पछिल्लो 11 नोभेम्बरदेखि स्टिम इन्जिन नचलेको डीएचआरका एक अधिकारीले बताएका छन्। उनका अनुसार कोइला श्रमिकहरूको वेतनलाई लिएर सिर्जना भएको समस्याकै कारण स्टिम इन्जिन ठप्प भएको हो।
जानकारीका अनुसार कोइला आपूर्तिको ठेका नयाँ ठेकादारले लिएपछि ती श्रमिकहरूले वेतन वृद्धिको माग गरिरहेका छन्।
“हामीले यो समस्या सुल्झाउनका लागि कोशिश गरिरहेका छौं। यद्यपि ठोस निष्कर्ष निस्कन सकेको छैन”, नाम उल्लेख नगरिदिने शर्तमा डीएचआरका एक अधिकारीले भने।
जानकारीका अनुसार वेतनबारे कोइला श्रमिक र ठेकादारबीच कुरा नमिलेपछि श्रमिकहरूले काम बन्द गरेका छन्। जसको फलस्वरूप गोदामदेखि इन्जिनसम्म कोइला आपूर्ति हुनसकिरहेको छैन। स्टिम इन्जिनका लागि कोइला अनिवार्य हुन्छ, जसको कारण पनि यसको सेवा प्रभावित बनेको हो। जानकारीका अनुसार कुल 6 जना कोइला श्रमिक छन्।
ती रेलवे अधिकारीका अनुसार ठेकादार-श्रमिकबीच कुरा नमिलेपछि उत्पन्न समस्याको कारण डीएचआरले नोक्सान बेहोर्न परिरहेको छ। अघिबाटै स्टिम इन्जिनका लागि काटिएका टिकटहरूको पैसा फर्काएर ती पर्यटकहरूलाई डिजेल इन्जिनमा जोय राइडको सेवा उपलब्ध गराइने कार्य भइरहेको छ।
यद्यपि यसबाट पनि धेरै हदसम्म डीएचआरले नोक्सान बेहोरिरहेको छ। किनभने दार्जीलिङ घुम्न आउने पर्यटकहरूले जोय राइडका लागि पहिलो रोजाइ स्टिम इन्जिन रहने गरेको छ।
उनका अनुसार स्टिम इन्जिनमा नर्मल कोच र भिस्टाडम कोच प्रतिव्यक्ति क्रमैले 1500 र 1600 छ भने डिजेल इन्जिनमा जोय राइडको भाड़ा प्रतिव्यक्ति 1000 रुपियाँ छ।